२०८२ श्रावण २९ गते

दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड

बैंकिङ खबर/ दरमखोला हाइड्रो इनर्जीको सर्वसाधारण शेयर (आईपीओ) को बाँडफाँड आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोला प्रथाद्वारा बाँडफाँड गरिएको हो। कुल २२ लाख ९६ हजार ४६५ आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन्।

आईपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ भाग्यमानीले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्।

दरमखोला हाइड्रो इनर्जीले गत साउन १५ देखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको थियो।

बाँडफाँडपछि लगानीकर्ताले आफ्नो शेयरको विवरण कम्पनी वा बिक्री प्रबन्धकको कार्यालयबाट जानकारी लिन सक्ने छन्।