
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य जनशक्तिको अभाव गम्भीर चुनौतीको रूपमा देखा परेको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले विदेशबाट स्थायी बसोबास अनुमति (पीआर) लिएर नेपाल फर्किन चाहने योग्य व्यक्तिहरूलाई बिना शर्त स्वागत गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार योग्य व्यक्तिहरू जोखिम मोलेर आउन तयार हुनुहुन्छ, तर हालको नियमका कारण उनीहरूले जोखिम मोलेर आउन हिचकिचाउँछन्।
डा. महतले उदाहरण दिनुभयो कि विदेशमा पीआर भएका व्यक्तिहरू नेपाल फर्केर काम गर्न चाहँदा तीन महिनाअघि नै आफ्नो पीआर छाड्नुपर्ने व्यवस्था उचित नभएको बताए । “तीन महीना अघि नै पीआर छाडेर आउँदा सरकारले कामको ग्यारेन्टी दिनुपर्छ, नत्र योग्य व्यक्तिहरू जोखिम मोलेर आउन तयार हुँदैनन्,” उनले भने ।
पूर्वअर्थमन्त्री महतले पीआर सम्बन्धी केही भ्रमहरू पनि स्पष्ट पारे । उनका अनुसार, पीआर केवल त्यो देशमा काम गर्न र बसोबास गर्न दिएको सुविधा हो, नागरिकता होइन। “पीआरलाई हामीले पहाड जस्तो ठान्यौं, तर यो त्यहाँको नागरिकता होइन र राजनीतिक अधिकार पनि छैन,” उहाँले उदाहरणसहित बताए ।
डा. महतले नेपालमा योग्य व्यक्तिहरूको कमीले विकासका योजनामा असर पर्ने भएकाले विदेशमा रहेका दक्ष जनशक्तिलाई आकर्षित गर्ने नीति र वातावरण सुधार गर्नुपर्नेमा जोड दिए । यसैबीच, उनले सरकार र सम्बन्धित निकायलाई पीआरधारीहरूलाई नेपालमा सहज रूपमा रोजगारी सुनिश्चित गर्ने, जोखिम घटाउने र योग्य जनशक्तिलाई देशभित्र फर्काउन प्रोत्साहन गर्ने नीति बनाउन आग्रह गरे ।



