२०८२ श्रावण २८ गते

अन्तर बैंक ब्याजदर २.६८ प्रतिशतमा

बैंकिङ खबर/पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ७२ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ, जुन साउन २४ गतेको भन्दा ९ अर्ब रुपैयाँ कम हो।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा ६४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ। यसैगरी, कर्जा प्रवाह पनि घट्दो क्रममा छ। साउन २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्, जुन साउन २४ गतेको ५५ खर्ब ८१ अर्ब रुपैयाँ भन्दा केही कम हो।

कुल कर्जा लगानीमा वाणिज्य बैंकहरुको हिस्सा ४९ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

पछिल्लो समय अन्तर बैंक ब्याजदर घटेर २.६८ प्रतिशत पुगेको छ भने बैंकहरुको औषत सीडि रेसियो ७६.०७ प्रतिशत रहेको छ। यसले देखाउँछ कि बैंकहरुमा लगानीयोग्य तरलता बढ्दो छ।

नेपाल राष्ट्र बैंकले हाल बजारमा ६ खर्ब रुपैयाँ हाराहारी लगानीयोग्य रकम थुप्रिएको र तरलतालाई व्यवस्थापन गर्नका लागि बजारबाट रकम प्रशोचन गरिरहेको जनाएको छ। बुधबार मात्रै केन्द्रीय बैंकले बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्न सूचना जारी गरेको छ।