
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको नाफा उल्लेख्य बढेको देखिएको छ। बैंकहरुले शतप्रतिशतसम्मले नाफा बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका हुन्।
ढिलो गरी विवरण सार्वजनिक गर्न थालेका बैंकहरुले नाफामा उल्लेख्य वृद्धि देखाएका छन्। यसअघि त्रैमासिक सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि चालू आवबाट भने १ महिनाको समय थप गरिएको थियो। सोही कारण ढिलो गरी चौथो त्रैमासिकको विवरण सार्वजनिक हुनथालेको हो।
कुनको कस्तो छ अवस्था?
कुमारी बैंक
कुमारी बैंकको नाफामा भारी अंकको अन्तर देखिएको छ। अघिल्लो आवमा लाख मात्रै कमाउन सफल देखिएको बैंकले गत आवमा २ अर्बमाथिको नाफा गरेको छ।
अघिल्लो आर्थिक वर्षमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख मात्रै कमाएको थियो। तर गत आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो।
बैंकले नाफा बढाउनुमा भने इम्पेयरमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिएको छ। बैंकले यस्तो चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको छ। यस्तै, बैंकले अघिल्लो वर्ष पाउनुपर्ने ब्याजबापतको रकम २ अर्ब ४१ करोड रुपैयाँ गत वर्ष असुल गरेको वित्तीय विवरणले देखाएको छ। सोही कारण बैंकको नाफावृद्धिमा योगदान पुगेको हो।
कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यस्तो कर्जा असुल हुन थालेसँगै बैंकहरुले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ।
बैंकले पनि असुल हुन थालेपछि इम्पेयरमेन्ट चार्जलाई घटाएर उक्त रकम नाफामा राख्दा नाफामा ठूलो वृद्धि देखिन पुगेको हो।
योबाहेक बैंकले सञ्चालन आम्दानी, सञ्चालन नाफा, ब्याज आम्दानी सबै बढाएको छ। अघिल्लो आवमा बैंकले ९७ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्दा गत आवमा भने ६ अर्ब १३ करोड रुपैयाँको मुनाफा गरेको हो।
यस्तै सञ्चालन आम्दानी पनि अघिल्लो आवमा बैंकले १३ अर्ब ६३ करोडको गरेकोमा गत आवमा ४ अर्ब ६३ करोड रुपैयाँ गरेको छ।
बैंकले ब्याज आम्दानी पनि बढाएको छ। अघिल्लो वर्ष १० अर्ब ८० करोड बराबरको ब्याज आम्दानी गरेको बैंकले गत आवमा कुल ११ अर्ब ५५ करोडको आम्दानी गरेको छ।
त्यसो त गत आवमा बैंकले निक्षेपकर्तालाई ब्याजबापत कुल २० अर्ब ७३ करोड रुपैयाँ भुक्तान गरेको छ भने ऋणीबाट ब्याजबापत ३२ अर्ब २९ करोड रुपैयाँ असुल गरेको छ।
बैंकले गत आवको वासलातमा नाफाभन्दा बढी कर तिरेको देखाएको छ। गत आवमा बैंकले खुद नाफा २ अर्ब ११ करोड गर्दा कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको देखाएको हो ।
बैंकले अपरिष्कृत वित्तीय विवरणमा बैंकको वासलात सुधारिएको देखाए पनि लगानीकर्ताको भने हात रित्तै हुने देखाएको छ। बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई दिन मिल्ने नाफा अझै ऋणात्मक नै देखिएको हो।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक हुँदा लगानीकर्ताको हात रित्तै रहन पुगेको थियो। गत वर्ष पनि यस्तो रकम ऋणात्मक नै रहने भनेपछि सेयरधनीले लाभांश नपाउने देखिएको हो।
माछापुच्छ्रे बैंक
त्यसैगरी, माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ। बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो।
अघिल्लो वर्षको बैंकको नाफा १ करोड ४ लाख मात्रै थियो। जुन गत वर्ष ९७ करोड रुपैयाँले बढाएको हो। बैंकले गत वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको छ।
गत वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४६ करोड रुपैयाँ फिर्ता गरी नाफामा देखाएको हो। यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज रिभर्सल पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ।
त्यसो त गत वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा ७ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ब्याज आम्दानी र ६ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा गत वर्ष बढाएको हो।
बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँमात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ।
बैंकले वित्तीय सूचकहरुमा सुधार गरेसँगै बैंकका सेयरधनीले पाउने नाफामा पनि वृद्धि भएको छ। गत आवमा बैंकका वितरणयोग्य नाफा १ अर्ब ७७ करोड छ । उक्त नाफाबाट बैंकले सेयरधनीहरुलाई प्रतिकित्ता ९ रुपैयाँ २३ पैसासम्म लाभांश दिनसक्ने क्षमता राख्छ।
खराबकर्जा समग्र वाणिज्य बैंकहरुकै चुनौती बनिरहँदा यो बैंकले भने यस्तो कर्जाको दर ३.८३ प्रतिशतमा सीमित राखेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा कम हो। अघिल्लो आवमा बैंकको खराब कर्जा दर ३.८६ प्रतिशत थियो।
कृषि विकास बैंक
त्यसैगरी कृषि विकास बैंकले पनि नाफा ४८ प्रतिशतले बढाएर देखाएको छ। अघिल्लो आवमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ८२ करोडको नाफा देखाएको छ।
बैंकले इम्पेयरमेन्ट चार्ज घटाएर नाफा बढाएर देखाएको हो। बैंकले खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड रुपैयाँ देखाएको छ भने कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको देखाएको छ। बैंकले यो वर्ष खुद सञ्चालन आम्दानी २१.७१ प्रतिशतले बढेको देखाउँदा सञ्चालन मुनाफा भने बैंकले ४१.२९ प्रतिशत बढाएर देखाएको छ।
बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत आइपुगेको छ भने इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्जको रकम बैंकले ‘राइटब्याक’ गरेर यो वर्षको नाफामा देखाएका कारण नाफामा ४८ प्रतिशतको वृद्धि देखिएको हो।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले भने अपरिष्कृत वित्तीय विवरणमार्फत गत आवमा १० प्रतिशतले नाफा बढाएर देखाएको छ। अघिल्लो आवमा ३ अर्ब ८ करोड नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको देखाएको हो।
बैंकले खुद ब्याज आम्दानीतर्फ ८ अर्ब ४४ करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले धेरै हो। योबाहेक बैंकको सञ्चालन आम्दानी पनि बढाएर ९ अर्ब ८४ करोड रुपैयाँ पु¥याएको छ। अघिल्लो आवमा यस्तो आम्दानी ८ अर्ब ९२ करोड रुपैयाँ थियो।
बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको हो।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।
थोरै पुँजी कोषका बाबजुद पनि बैंकको व्यवसायमा सन्तुलित वृद्धि भएको देखिन्छ।
सिटिजन्स
सिटिजन्स बैंकले भने यो पटक नाफा घटाएर अपरिष्कृत वित्तीय विवरण निकालेको छ।
अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड कमाएकोमा गत आवमा १ अर्ब २९ करोडले बढेको देखाएको हो। यो अघिल्लो आवको तुलनामा २.२७ प्रतिशतले घटेको हो।
गत आवमा बैंकले १७ अर्ब ३० करोड ब्याज आम्दानी गरेको देखाएको छ अघिल्लो आवमा योभन्दा बढी १९ अर्ब ७१ आम्दानी गरेको थियो।
ब्याज आम्दानी घटे पनि गत आवमा बैंकको सञ्चालन आम्दानी भने बढेको देखाएको छ। अघिल्लो आवमा ७ अर्ब ५ करोड आम्दानी गरेको बैंकले गत आवमा ८ अर्ब १२ करोडको आम्दानी गरेको हो।
यस्तै सञ्चालन मुनाफा भने यो वर्ष घटेको छ। अघिल्लो वर्ष २ अर्ब ४ करोड मुनाफा कमाएको बैंकले गत आवमा २ अर्ब मात्रै नाफा कमाएको हो।
बैंकले खराब कर्जा पनि बढेको देखाएको छ। अघिल्लो आवमा ४.१० प्रतिशतमा रहेको खराब कर्जा गत आवमा ४.९४ प्रतिशतमा पुगेको हो।
एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यससँगै बैंकको लाभांश दिने क्षमता ३८.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २८.०६ प्रतिशतभन्दा २६.६७ प्रतिशतले वृद्धि हो।
बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको ३ अर्ब ७० करोड रुपैयाँबाट बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जसमा ३२.८० प्रतिशतको वृद्धि भएको हो। प्रतिसेयर आम्दानी पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँमा पुगेको छ।
सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकले निस्क्रिय कर्जा घटाउँदै अघिल्लो वर्षको ०.७१ प्रतिशतबाट घटाएर ०.३८ प्रतिशतमा ल्याएको छ।
रिटर्न अन इक्विटी १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३६.२८ रुपैयाँबाट बढेर २४७.३९ रुपैयाँ भएको छ। समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड र कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
कस्ट अफ फण्ड ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा र आधार दर ८.१३ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा आइपुगेको छ। समीक्षा अवधिमा बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत र पीई अनुपात १८.४७ गुणा रहेको छ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ९२.१३ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक प्रतिवेदनअनुसार वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै हो।
यससँगै बैंकको लाभांश दिने क्षमता पनि बढेको छ। अघिल्लो आवमा १०.६६ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा रहेको बैंकले यस वर्ष २०.४७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ, जुन ९२.०२ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड रुपैयाँ भएको छ।
बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४४ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। रिजर्भ ५ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ भएको छ। निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढेर १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशत भएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १९३९.७५ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १९.८० गुणा र तरलता अनुपात ३०.९५ प्रतिशत रहेको छ।
