२०८२ श्रावण २५ गते

बढ्यो आवास कर्जा

बैंकिङ खबर/ व्यक्तिगत आवास निर्माणमा वृद्धि देखिएको छ । यसका कारण आवास क्षेत्रसँग सम्बन्धित कर्जा प्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माणका लागि २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । यो गत आवको तुलनामा ठूलो वृद्धि हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ५४ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले व्यक्तिगत घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २४ अर्ब रुपैयाँ बढी हो ।

जानकारी अनुसार, ब्याजदर घट्दा र रेमिट्यान्स प्रवाह उच्च हुँदा पनि आवास कर्जा मागमा वृद्धि भएको हो । रियल इस्टेट क्षेत्र पुनः सक्रिय बनेपछि आवासीय परियोजनाहरू तीव्र गतिमा विस्तार हुँदै गएका कारण कर्जा लिने आकर्षण बढेको बैंकरहरूको भनाइ छ ।

वाणिज्य बैंकहरूले मात्रै जेठ मसान्तसम्म तीन खर्ब २६ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी व्यक्तिगत आवास कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले ६८ अर्ब ६७ करोड ५० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूले १४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ आवास कर्जा दिएको तथ्यांक छ ।

विशेषज्ञहरूले व्यक्तिगत आवास कर्जाले रियल इस्टेट र निर्माण क्षेत्रमा रोजगारी सृजना गर्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि घरजग्गा क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणका लागि विभिन्न अफर, स्कीम तथा योजना सार्वजनिक गरी ग्राहक आकर्षण बढाइरहेका छन् । जग्गाको मूल्य स्थिर रहँदा समेत कर्जा प्रवाह बढेको छ ।

यसैबीच, गत आर्थिक वर्षको ११ महिनासम्म बैंकिङ क्षेत्रबाट कुल कर्जा ५५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा करिब चार खर्ब २६ अर्ब बढी हो । यो कर्जामा वाणिज्य बैंकको हिस्सा सबैभन्दा ठूलो छ भने विकास बैंक र फाइनान्स कम्पनीको योगदान क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

बैंकरहरूले मौद्रिक नीतिमा केही लचकता देखिए पनि गैरबैंकिङ क्षेत्रको सम्पत्ति बढ्दै गएको र पुँजीकोषमा दबाब रहेकाले कर्जा प्रवाहमा ठूलो वृद्धि गर्न केही चुनौतीहरू रहेको जनाएका छन् ।

 

 

 

 

ब्कप ऋजबतन्एत्