
बैंकिङ खबर/स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साउन ३० गते (अगस्ट १५) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट भइसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।
लघुवित्तले कुल २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा कर्मचारीका लागि १ हजार १५५ कित्ता, सामूहिक लगानी कोषका लागि ११ हजार ५५० कित्ता, र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २३ हजार १०० कित्ता सेयर निष्कासन भइसकेको छ।
अब बाँकी रहेका १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यस सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन भदौ ३ गते (अगस्ट १९) सम्म दिन सकिनेछ। यदि तोकिएको अवधिमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा अवधि भदौ १३ गतेसम्म (अगस्ट २९) लम्ब्याइनेछ।
इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ बी एटदरेट प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



