
बैंकिङ खबर/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई निर्धारित समयभन्दा अघि नै ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले सघन र संगठित प्रयास गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने, “नेपालका लागि तयार पारिएका नीति तथा कार्ययोजनाहरू कार्यान्वयन हुने क्रममै छन् र यसका सकारात्मक परिणामले छिटो ग्रे लिष्टबाट बाहिर निकाल्न मद्दत गर्नेछ।”
उनले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनहरू र नियमावलीहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आएको बताए। यसमा मनी लाउण्डरिङ्ग निवारण र व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विभिन्न ऐनहरू संशोधन गरी नयाँ कार्ययोजना ल्याइएको छ।
अर्थमन्त्रीले ग्रे लिष्टबाट बाहिर निस्कनको लागि गठन गरिएको निर्देशक समितिले शीघ्र सुधारात्मक कदमहरू लिएर कार्यान्वयन गरिरहेको र यसका गतिविधिहरू समन्वय र अनुगमनका लागि आवश्यक संयन्त्रहरू पनि स्थापना भइसकेको जानकारी दिए।
उनले बहुमूल्य धातु तथा वस्तु व्यवसायी, क्यासिनो व्यवसायी र घर जग्गा कारोबार गर्ने सूचक संस्थाहरूलाई जारी गरिएका निर्देशनहरू पनि कार्यान्वयनमा रहेको बताए।
यससँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका लागि सरकारले प्रभावकारी रणनीति बनाएर अनुगमन र निर्देशन गरिरहेको समेत अर्थमन्त्रीले स्पष्ट पारे । सरकारको यो पहलले नेपाल छिटो ग्रे लिष्टबाट बाहिरिने आशा गरिएको छ।




