बैंक तथा वित्तीय संस्थाको ऋण नतिरि फरार रहेका घरजग्गा व्यवसायि सुधीर बस्नेत पक्राउ परेका छन् । दर्जनौ वित्तीय संस्थाको ऋण नतिरि फरार रहेका उनी ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका थिए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र महाराजगन्ज प्रहरी वृत्तबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बस्नेतलाई मंगलबार राति ११ बजे धापासीबाट पक्राउ गरेको महाराजगन्ज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । प्रहरीको घेरामा परिसकेपछि पनि बस्ने भाग्न खाजेपछि प्रहरीले गोली समेत चलाएको थियो । भाग्ने क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा बस्नेत आफै लडेर देब्रे हातमा चोट लागेको छ । सामान्य उपचारपछि उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको डिएसपी पुरीले बताए । त्यसपछि अहिले बस्नेतलाई महाराजगञ्ज वृत्तमा राखिएको छ ।
बस्नेतमाथि ओरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता नगरी फरार रहेको अरोप छ । उनी कुनै बेला घरजग्गा व्यवसायमा निकै बोलबाला भएका व्यक्तिमा गनिन्थे । त्यहि क्रममा उनले १४ वटा बैंकबाट लिएको १ अर्ब ६० करोड सावाँ र विगत १७ महिनादेखिको ब्याज तिर्न बाँकी छ । घरजग्गाको ‘स्पेकुलेसन’ गर्न बैंकबाट लिएको कर्जा मात्रै होइन, सहकारी, व्यक्ति र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ ऋण चुक्ता नगरी बस्नेत फरार भएका थिए ।
कुनै बैंकको कति कर्जा डुबाए ?
प्राइम कमर्सियल
बस्नेतले तिर्न बाँकी कर्जामध्ये सबैभन्दा बढी प्राइम कमर्सियल बैंकलाई तिर्नुपर्ने छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ लाख रुपैयाँ उठेको छैन ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख रुपैयाँ फँसेको छ ।
कुमारी बैंक
त्यसैगरी कुमारी बैंकले २० करोड ३६ लाख लगानी गरेको छ । सो रकम पनि फँसेको छ ।
एनआइसी एसिया
बस्नेतले एनआइसी एसिया बैंकको २० करोड १ लाख रुपैयाँ डुबाएका छन् ।
नबिल बैंक
नबिल बैंकले पनि १४ करोड ६ लाख रुपैयाँ बस्नेतमाथी कर्जा डुबाएको छ ।
तत्कालित किष्ट बैंक
त्यसैगरी तत्कालिन किष्ट बैंकको १३ करोड रुपैयाँ फँसेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेसनल बैंकले ११ करोड ६९ लाख रुपैयाँ बस्नेलाई दिएपनि त्यो फिर्ता भएको छैन ।
तत्कालीन ग्राण्ड बैंक
तत्कालीन ग्राण्ड बैंकबाट पनि बस्नेतले १० करोड ७४ लाख रुपैयाँ कर्जा लिएका छन् ।
तत्कालिन लुम्बीनी बैंक
त्यसैगरी बस्नेतले तत्कालिन लुम्बीनी बैंकको ६ करोड ९३ लाख डुबाएका छन् ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ फँसेको छ ।
सिभिल बैंक
सिभिल बैंकको ३ करोड ७४ लाख रुपैयाँ बस्नेतले फिर्ता गर्न बाँकी छ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले पनि बस्नेमाथी ३ करोड ३७ लाख लगानी गरेको छ । तर त्यो रकम पनि फिर्ता भएको छैन ।
एनसीसी बैंक
एनसीसी बैंकको पनि १ करोड रुपैयाँ फँसेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ लगानी उठेको छैन ।
अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयरसहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए ।
बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार १६ महिनादेखि बन्द भएका छन् । वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवा ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत कारबाहि हुने प्रहरीले जनाएको छ ।




