२०८२ श्रावण २० गते

बैंकवित्त विरुद्धका ‘साँगठनिक नाइके’ दुर्गा प्रसाईंको रिहाई : वित्तीय क्षेत्रको सन्त्रास !

बैंकिङ खबर/ दुर्गा प्रसाईं बैंकिङ क्षेत्रमा अराजकता भित्राउने पात्र हुन् । उनले बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका थिए । लामो समयसम्म नियामक निकाय समेत उनका अघि मुकदर्शक बनेको थियो । उनले बैंकवित्त विरुद्ध सर्बसाधारणलाई जम्मा गरेर कर्जा नतिर्नु भन्दै उक्साउँदै आएका थिए । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।  त्यस्तैसीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।

साढे २७ करोड रुपैयाँ कर्जाको दुरुपयोग
प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजनमा दुरुपयोग गरेको देखिएको हो । तत्कालीन एनसीसी बैंक (अहिले कुमारी) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड बराबरको रकमलाई राष्ट्र बैंक ऐन अनुसार कर्जा दुरुपयोग मानिएको छ ।

राष्ट्र बैंक ऐन अनुसार बैंकबाट लिएको कर्जा व्यवसायमा प्रयोग गरेर त्यसबाट प्राप्त आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्छ । तर, प्रसाईंले ठुलो रकम पेस्कीको रुपमा लिएर आफू र आफन्तको नाममा रहेको कम्पनीहरूलाई सो रकम प्रदान गरेको भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को रिपोर्टमा उल्लेख छ । प्रसाईंविरुद्ध सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसारको कर्जा दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । उनीविरुद्ध उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भई उनी थुनामा गएका थिए ।
नेपाल राष्ट्र बैंकले सिआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्बभन्दा बढी कर्जा लिएका छन् । त्यसमध्ये साढे २७ करोड अपचलन भएको अनुसन्धानमा देखिएको सिआईबीले जनाएको छ ।

करिब साढे ६ अर्बका ऋणी
उनले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड कर्जा लिएका थिए । यस्तै, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका थिए ।
यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा–ब्याज गत आबको तेस्रो त्रैमाससम्म प्रसाईले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । 

बैंकवित्त विरुद्ध अफवाह फैलाउने नाइके
दुर्गा प्रसाईले बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका थिए । उनले बैंकवित्त विरुद्ध सर्बसाधारणलाई जम्मा गरेर कर्जा नतिर्नु भन्दै उक्साउँदै आएका थिए ।
त्यसबाहेक उनले केही बैंक वित्तसँग फिरौती समेत असुलेको अभियोग उनीमाथि छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरका मुद्धाहरु छन् । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुर लागेको हो ।

लघुवित्तका कर्मचारीलाई काम गर्न कठिन
उनी विगतदेखि नै वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर ग¥यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको थियो । लघुवित्त विरुद्ध त उनी साँगठनिक रुपमै लाग्दै आएका छन् । वित्तीय शिक्षा र उत्पादनसँग जोडेर अघि बढेको लघुवित्त क्षेत्रलाई दुर्गा प्रसाईको उक्सावटका कारण कैयौं ठाउँमा काम गर्न समेत समस्या भएको छ । केही ठाउँमा लघुवित्तका कर्मचारीहरुमाथि आक्रमण समेत गरिएका छन् ।