
बैंकिङ खबर/ नेपालमा बन्देज लगाइएको क्रिप्टो करेन्सी कारोवारमा संलग्न युवाहरुको संख्या बढ्न थालेको छ । क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने २१ वर्षीय सुशान्त दाहाल रहेका छन्।
काठमाडौं महानगरपालिका-१४ कलंकीमा क्रिप्टो करेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो। उनले क्रिप्टो करेन्सीको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। उनी उपर क्रिप्टो करेन्सीको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी
नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । नेपाली पैसा अवैधरूपमा विदेशिएपछि र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणका लागि प्रयास थालेको हो । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी छ ।
ट्रिपल ए ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा नेपाल पनि समेटिएको थियो । सो प्रतिवेदनअनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू रहेको उल्लेख छ ।
क्रिप्टोकरेन्सीलगायतका डिजिटल सम्पत्तिहरुमा लगानी गरे कारबाहीः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका केही डिजिटल सम्पत्तिहरुमा लगानी नगर्न भनेको छ। मुलुकभित्र र बाहिर रहेका नेपालीहरुलाई डिजिटल सम्पत्तिमा लगानी गरे कारबाही गरिने जनाएको हो। नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा यस्ता सम्पत्तिको कानुनी मान्यता नहुने राष्ट्र बैंकले जनाएको हो। जसलाई नेपालमा गैरकानूनी मानिन्छ। क्रिप्टोकरेन्सी, एनएफटी, नेटवर्क मार्केटिङ र हाइपर फण्डलगायतमा लगानी गर्नुलाई राष्ट्र बैंकले गैरकानूनी हुने उल्लेख जनाएको छ।
यस्ता डिजिटल एसेट्सहरुमा लगानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका मुद्दामा कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ। यसबाहेक ठगी, कर छली, सट्टेबाजी लगायतमा पनि सलंग्न नहुन राष्ट्र बैंकले सचेत गराएको छ।



