२०८२ श्रावण १८ गते

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको रिट हेर्न नभ्याइनेमा

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयविरुद्ध ओझाले दिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेश भएको थियो। तर, कार्यव्यस्तताका कारण उक्त रिट फेरि पनि  सुनुवाइको सूची (हेर्न नभ्याइनेमा) मा परेको हो।

ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्ति लिँदा पेश गरेको अनुभव प्रमाणपत्र फर्जी भएको आरोप लागेपछि सरकारले गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकबाट उनलाई निलम्बन गरेको थियो। सोसँगै घटनाको छानबिन गर्न न्यायिक समिति गठन गरिएको थियो।

निलम्बनपछि ओझाले साउन ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अब यो मुद्दाको अर्को सुनुवाइ कहिले हुने भन्नेबारे अदालतले तोकेको छैन।