
बैंकिङ खबर/ अबदेखि नयाँ सेयर कारोबार खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा ग्राहक पहिचान विवरण (केवाईसी) मा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर प्रविष्ट गर्नुपर्ने जनाएको हो।
नेप्सेले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार ग्राहकको पहिचान र पुष्टि राष्ट्रिय परिचयपत्रको आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको बताएको छ। साथै, केवाईसी विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्दै त्यसको विवरण विद्युतीय रूपमा प्राप्त गर्न मिल्ने प्रणाली पनि विकास गरिँदैछ।
नेप्सेले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका सदस्यहरूलाई पनि नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ। यो कदम लगानीकर्ताको डिजिटल पहिचान सुनिश्चित गर्न र वित्तीय प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले ल्याइएको हो।
