२०८२ श्रावण १५ गते

दरमखोला हाईड्रो इनर्जीको आईपीओ खुला

बैंकिङ खबर/ दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले कुल २९ लाख १९ हजार ५ सय कित्ता शेयर सार्वजनिक गरेको हो।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३९ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १०/१० प्रतिशत शेयर वितरण गरिसकेको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन साउन १९ गतेसम्म खुला रहनेछ। यदि यस अवधिमा पूरै आवेदन नपरेमा आवेदन अवधि साउन २९ गतेसम्म कायम रहनेछ।

आईपीओका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ‘आस्बा’ सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।