Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्णाली विकास बैंक घोटाला प्रकरण : १०९ जनाविरुद्ध मुद्दा दायर

२०८२ श्रावण १४ गते

बैंकिङ खबर/ कर्णाली विकास बैंक घोटाला प्रकरणमा सवा तीन अर्ब रुपैयाँ विगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको हो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा करिब एक साता अध्ययनपछि यो मुद्दा अगाडि बढाइएको हो।

३ अर्ब २० करोड ११ लाख रुपैयाँको विगो दाबी गर्दै दायर गरिएको उक्त मुद्दामा बैंकका पूर्वअध्यक्ष राजेन्द्रवीर राय, अर्का पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, र नेपाल राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेत सहित १०९ जनालाई प्रतिवादी बनाइएको सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीले जानकारी दिए।

मुद्दामा संलग्नमध्ये हालसम्म ४ जना प्रहरी हिरासतमा छन् भने १०५ जना फरार छन्। राय जेठ १८ गते पक्राउ परेका थिए। एक महिनापछि मिश्रलाई पनि नियन्त्रणमा लिइएको थियो। राष्ट्र बैंकका तत्कालीन कर्मचारी बस्नेत साउन २ गते पक्राउ परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १११ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने सुझावसहितको प्रतिवेदन साउन ८ गते जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। घोटालामा बैंकका सञ्चालक, कर्मचारी तथा अन्य व्यक्ति मिलेमतोमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।