
बैंकिङ खबर/ केही वर्षदेखि सुस्त देखिएको नेपाली घरजग्गा बजार पुनः लयमा फर्किन थालेको छ। कर्जामा सहजता, घट्दो ब्याजदर, तथा डिजिटल प्रणालीको विस्तार जस्ता संरचनात्मक सुधारले यो क्षेत्र फेरि चलायमान देखिन थालेको हो।
काठमाडौं उपत्यका, प्रमुख सहरी क्षेत्रहरू तथा पूर्वी नेपालका सहरहरूमा निजी आवास निर्माण तथा कित्ताकाटको गति बढेसँगै बजारमा विश्वास फर्किएको देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ३८ हजार १२८ वटा घरजग्गा लिखत पास भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ०.१५ प्रतिशतले वृद्धि भएको हो।
विशेषगरी असार महिनामा मात्रै ५५ हजार ५२४ वटा कारोबार दर्ता भएको पाइएको छ, जुन अघिल्लो वर्षको असारको तुलनामा २०.२३ प्रतिशतले बढी हो।
डिजिटल प्रणाली र मौद्रिक नीतिले थप उत्साह
घरजग्गा कारोबारको यो वृद्धिमा मालपोत कार्यालयमा लागू भएको डिजिटल प्रणाली, अनलाइन सेवा प्रवाह र कारोबार प्रक्रियाको पारदर्शिता प्रमुख कारक बनेका छन्।
त्यस्तै, नेपाल राष्ट्र बैंकको चालु वर्षको मौद्रिक नीतिले पनि बजारमा थप सहजता ल्याएको छ। पहिलोपटक घर किन्ने व्यक्तिका लागि आवास कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्याइएको छ। Loan to Value (LTV) अनुपात ७० बाट ८० प्रतिशत कायम गरिँदा, घर खरिदकर्ताले थोरै पुँजीमै बैंकबाट बढी कर्जा पाउन सक्ने वातावरण बनेको छ।
