
बैंकिङ खबर/नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले डिजिटल प्रविधिले बैंकिङ क्षेत्रलाई आधुनिक र सहज बनाए पनि यससँगै नयाँ प्रकारका जोखिमहरू उत्पन्न भएको बताएकी छन् ।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको भविष्य सुरक्षित र दिगो बनाउन प्रविधिको उपयोगसँगै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।
उनले भनिन्, “पहिले कुनै बैंकमा समस्या आउँदा ग्राहकहरू लाइनमा बसेर पैसा झिक्थे, तर अहिले मोबाइलबाटै ठूला रकम झिक्न सकिने भएकाले तरलताको जोखिम बढेको छ ।”
ढुंगानाले कोभिड महामारीपछि सुस्त बनेको अर्थतन्त्र क्रमशः सुधारको दिशामा फर्किएको बताउँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशतको लक्षित सीमाभित्रै रहने अनुमान रहेको जानकारी दिइन् ।
डिजिटल बैंकिङको विस्तारले भुक्तानी प्रणालीमा क्रान्ति ल्याएको स्वीकार गर्दै उनले साइबर सुरक्षाको जोखिमसमेत बढेको उल्लेख गरिन् । यस जोखिमको व्यवस्थापनका लागि राष्ट्र बैंकले २०७५ सालमा भुक्तानी प्रणाली विभाग स्थापना गरेको उनले जानकारी दिइन् ।
डेपुटी गभर्नर ढुंगानाले राष्ट्र बैंकले बैंकहरूलाई लाइसेन्स दिने निर्णयमा हतार नगर्ने स्पष्ट पारिन् । केही वर्षअघि अस्वस्थ प्रतिस्पर्धाले बैंकहरू मर्जरमा जान बाध्य पारिएको स्मरण गर्दै उनले भनिन्, “राष्ट्र बैंकको अध्ययनले १५ देखि १८ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको छ । आधारबिनै नयाँ बैंक खोल्ने र फेरि मर्जरमा लैजाने नीतिगत अस्थिरताले कसैलाई फाइदा दिंदैन ।”
उनले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन, संस्थागत सुशासन र व्यावसायिक संस्कृतिको विकास आवश्यक रहेको बताइन् ।
“बैंकहरूले दिएको सुविधालाई सहज रूपमा लिनु हुँदैन,” उनले भनिन्, “कर्जा प्रवाह गर्दा व्यावसायिक मूल्याङ्कन गर्न र असुलीमा विशेष ध्यान दिनुपर्छ ।”
अन्त्यमा उनले राष्ट्र बैंकले भविष्यका चुनौतीहरू सामना गर्न आवश्यक नीतिगत व्यवस्था र नियमनमा निरन्तर काम गरिरहेको उल्लेख गरिन् । बैंकिङ क्षेत्रको दिगो विकासका लागि सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन् ।




