Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३ वर्षपछि आधार दर गणना विधिमा फेरबदल गरिँदै

२०८२ श्रावण १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सन् २०१२ (वि.सं. २०६९) देखि लागू हुँदै आएको आधार दर (बेसरेट) गणना प्रणालीलाई समयसापेक्ष बनाउने तयारी थालेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा प्रयोग गर्दै आएको पुरानो विधि अब समसामयिक आर्थिक परिवेशसँग मेल नखाने भन्दै राष्ट्र बैंकले यस प्रणालीमा नीतिगत सुधार गर्न लागेको हो।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘हामी आधार दर गणना प्रणाली हटाउने होइन, सुधार गर्ने तयारीमा छौं ।’

उनका अनुसार हालको विधिमा स्रोत संकलनको खर्च, जोखिम प्रिमियम, अन्तर्राष्ट्रिय अभ्यासमा रहेको लोन प्राइम रेट र मार्जिनल कष्ट अफ लेन्डिङ रेट जस्ता तत्वलाई पनि समेट्नेगरी नयाँ खाका तयार पार्ने अध्ययन प्रक्रिया अघि बढाइएको छ।

२०६९÷७० को मौद्रिक नीतिपछि राष्ट्र बैंकले लागू गरेको आधार दर गणना प्रणालीअनुसार बैंकहरूले मासिक रूपमा आधार दर निकालेर, त्यसमा केही प्रिमियम थप गरी ऋणको ब्याजदर तोक्दै आएका छन्।

हालको गणनामा कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता, सञ्चालन लागत र सम्पत्तिमा ०.७५% प्रतिफल प्रतिशत जोड्ने प्रावधान छ। यद्यपि, ब्याजदरमा थपिने प्रिमियम भने बैंकहरूले आफ्नै मापदण्डअनुसार निर्धारण गर्दै आएका छन्।

तर पछिल्ला वर्षहरूमा यस प्रणालीले कर्जाको ब्याजदरमा पारदर्शिता र प्रतिस्पर्धा कम भएको भन्ने गुनासो बढेपछि यो विषय पुनः उठान गरिएको हो।

२०७८ सालको मौद्रिक नीतिदेखि नै राष्ट्र बैंकले आधार दर गणनाको सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो। गत वर्षको मौद्रिक नीतिमा यो विषय अध्ययनको रूपमा उठाइए पनि, चालु आर्थिक वर्षको नीतिमा यसलाई कार्यान्वयन तहमा लैजाने स्पष्ट योजना गरिएको छ। यसपटक राष्ट्र बैंकले नयाँ विधि यही आर्थिक वर्षभित्र लागू गर्ने तयारी गरेको छ ।

हाल अधिकांश बैंकहरुको आधारदर ६ प्रतिशतको हाराहारीमा छ भने राष्ट्रिय वाणिज्य बैंक ४.८९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ४.९० प्रतिशत छ।

साथै, एभरेष्ट बैंकको ५.३५ प्रतिशत, नेपाल बैंकको ५.६३ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ५.७६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८३ प्रतिशत र नबिल बैंकको ५.८३ प्रतिशत बेसरेट छ। बाँकी वाणिज्य बैंकहरुको ६ प्रतिशतमाथि ७.१७ प्रतिशतसम्म छ। जसमा सबैभन्दा बढी एनआइसी एशियाको बेसरेट रहेको छ।

यस्तै, विकास बैंकहरुतर्फ भने सबैभन्दा कम सप्तकोशी डेझपमेन्ट बैंकको ६.६८ प्रतिशत र सबैभन्दा बढी नारायणी विकास बैंकको १७.१८ प्रतिशत बेसरेट रहेको छ। भने, वित्त कम्पनीमा सबैभन्दा कम मञ्जुश्री फाइनान्सको ७.८१ प्रतिशत र सबैभन्दा बढी बेस्ट फाइनान्सको १०.६४ प्रतिशत रहेको छ।