२०८२ श्रावण ९ गते

हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुँदै

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (एफपीओ) आउँदो मङ्गलबार, साउन १३ गते बाँडफाँड गरिने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार आज (शुक्रबार) प्रि-अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडका लागि आवश्यक तयारी पूरा भएको छ।

हालको व्यवस्थाअनुसार प्रि-अलोटमेन्टपछि कम्तीमा दुई दिनको अन्तराल हुनुपर्ने भएकाले मङ्गलबार बाँडफाँड प्रक्रिया तय गरिएको हो।

यो एफपीओमा अत्यधिक चासो देखिएको थियो। बिक्री खुल्ला भएपछि मागभन्दा झण्डै चार गुणा बढी आवेदन परेको छ। बैंकका अनुसार १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्। तर, गोलाप्रथाबाट हुने बाँडफाँडमा ९ लाख २५ हजार ४६ जना मात्र भाग्यमानी बन्नेछन्। तीमध्ये ९ जनालाई ११ कित्ता र बाँकी सबैलाई १० कित्ता सेयर प्रदान गरिनेछ।

एफपीओको तथ्यांक

कुल कित्ता: ९२ लाख ५० हजार ४६९

कुल रकम: १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ

प्रति कित्ता मूल्य: अंकित १०० + प्रिमियम ५७ = १५७ रुपैयाँ

सेयर बोर्डले स्वीकृति दिएको मिति: असार २२

सेयर बोर्डले स्वीकृत मूल्य: बैंकको प्रस्ताव १६९ रुपैयाँ भए पनि स्वीकृति १५७ रुपैयाँ

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्काशन खुला गरेको थियो। बैंकले शुरुमा प्रति कित्ता ६९ रुपैयाँ प्रिमियम थपेर १६९ रुपैयाँमा एफपीओ निष्काशनको प्रस्ताव गरेको भए पनि नेपाल धितोपत्र बोर्डले मूल्य घटाएर १५७ रुपैयाँमा अनुमति दिएको हो।

एफपीओ बाँडफाँडपछि बैंकको सेयर वितरण अझै व्यापक हुने अनुमान गरिएको छ। शेयर पाउने आवेदकले बाँडफाँडपछि नतिजा क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो शेयर पोर्टल तथा हिमालयन बैंकको आधिकारिक साइटमार्फत हेर्न सक्नेछन्।