२०८२ श्रावण ७ गते

सेबोनले सार्वजनिक गर्‍यो २०८२/८३ का लागि पुँजी बजार नीतिहरू(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको नीतिमा चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम अनुसार पुँजी बजारलाई सुदृढ र पारदर्शी बनाउने लक्ष्य समेटिएको छ।

नीतिअन्तर्गत वस्तु विनिमयसम्बन्धी कानुन निर्माण, बोर्डको संस्थागत क्षमता सुदृढीकरण, स्टक एक्सचेन्ज पुनःसंरचना, नियामक निकायको दक्षता विकास, र जोखिम न्यूनीकरणका लागि नयाँ उपकरण परिचालनको व्यवस्था समावेश गरिएको छ। सेबोनले पुँजी बजारमा नागरिकको लगानी संरक्षण र हित प्रवर्द्धनलाई प्राथमिकता दिएको बताएको छ। नयाँ नीतिअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनःसंरचना गरी यसको कार्यदक्षता बढाइने उल्लेख छ।

यस्तै, सूचीकृत लगानी कम्पनीहरू र संस्थागत लगानीकर्ताहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको स्वपुँजी, ऋणपत्र तथा अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न मिल्ने गरी आवश्यक कानुनी व्यवस्था गरिने सेबोनले जनाएको छ।

यसका साथै, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गर्ने र गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा कारोबार गर्ने सुविधा दिने व्यवस्था पनि समावेश गरिएको छ। रिभेटिभ्स कारोबारको पूर्वाधार विकास गर्दै, इक्विटी डेरिभेटिभ बजार सञ्चालनका लागि आवश्यक तयारी गरिने र अक्सन मार्केट प्रणालीको विकास गर्न सहजीकरण गरिने नीति बोर्डले लिएको छ।

सेबोनले उक्त कार्यक्रमलाई देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा एक महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ।

sebon