
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चेक अनादरसम्बन्धी कानुनी प्रावधानबारे जनचेतना फैलाउन विशेष अभियान सञ्चालन गर्दै आएको छ। राष्ट्र बैंक अन्तर्गतको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक सन्देशमार्फत खातावालाहरुलाई चेक जारी गर्दा सावधानी अपनाउन आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार, खातामा पर्याप्त मौज्दात नभएको अवस्थामा चेक जारी गर्नु बैंकिङ कसुर मानिन्छ। यस्तो अवस्थामा चेक अनादर भएमा कानूनी कारबाहीको दायरामा पर्न सकिन्छ।
चेक बाउन्स भएमा सम्बन्धित बैंक वा सहकारी संस्थाले खातावाललाई ४५ दिनभित्र रकम जम्मा गर्न समय दिन सक्छ। यदि सो अवधिमा पनि रकम नजम्मा भएमा बैंकले चेक अनादर भएको विवरण प्रमाणित गरी तीन दिनभित्र चेक धारकलाई फिर्ता गर्नु पर्नेछ।
यदि खातावालले सो रकम बुझाउन असफल भएमा, चेक जारी गर्ने व्यक्तिलाई विगो रकम, सोमा लाग्ने ब्याज तथा कुल विगोको ५ प्रतिशत जरिवाना तिराउनु पर्नेछ। साथै, प्रचलित कानूनअनुसार कैद सजायसमेत हुन सक्ने प्रावधान रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले सबै बैंक खाता प्रयोगकर्ताहरुलाई आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक जारी गर्न आग्रह गरेको छ। यसरी सजक भएर मात्रै चेक कारोबार गरे कानुनी जोखिमबाट बच्न सकिने बताइएको छ।
गुनासो कहाँ गर्ने ?
यदि चेक अनादर सम्बन्धी समस्या परेमा नेपाल राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल www.gunaso.nrb.org.np वा ग्राहक संरक्षण इकाइको ०१-५७१९६०५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।





