Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

औद्योगिक कर्जा प्रवाहमा तीव्र वृद्धि, तर उद्योगको क्षमता उपयोग घट्दै : राष्ट्र बैंक

२०८२ श्रावण २ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा साढे १६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, उद्योगहरुको औसत क्षमता उपयोग भने घटेको पाइएको छ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १६ खर्ब ४६ अर्ब ७० करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो वृद्धिदर ४.१९ प्रतिशत मात्रै थियो। औद्योगिक क्षेत्रमा कुल कर्जाको ३०.३१ प्रतिशत हिस्सा पुग्दै गएको देखिन्छ। तर, कर्जाको प्रवाहसँगै उत्पादन क्षमताको उपयोगमा भने गिरावट आएको छ। अध्ययन अनुसार समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४१.११ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्षको ४२.९४ प्रतिशतभन्दा कम हो।

कर्जा लगानी बागमतीमा केन्द्रित

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशले एक्लै ७१.६० प्रतिशत अर्थात ११ खर्ब ७९ अर्ब कर्जा पाएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम ०.२३ प्रतिशत मात्रै अर्थात ३ अर्ब ७९ करोड कर्जा प्रवाह भएको छ। गण्डकी प्रदेशमा प्रवाहित औद्योगिक कर्जा २.२६ प्रतिशतले घटेको एकमात्र प्रदेश हो।

उद्योगको क्षमता उपयोग एकतर्फी

केही उद्योगहरूले भने उच्च क्षमतामा काम गरिरहेका छन्। बिजुली उत्पादन उद्योगको क्षमता उपयोग ९९.९१ प्रतिशत, टायर–ट्यूव उत्पादनमा ९५.३० प्रतिशत, आल्मुनियम उद्योगमा ८७.६१ प्रतिशत, र स्न्याक्स उत्पादन उद्योगमा ८७ प्रतिशत रहेको छ। तर, वनस्पती घ्यू, चामल, चिनी, चुरोट, जुट, साबुन, चकलेट, चप्पल जस्ता उद्योगमा क्षमता उपयोग घटेको पाइएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशको उद्योगले सबैभन्दा बढी ४८.६० प्रतिशत क्षमता उपयोग गरेका छन् भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम ३३.८२ प्रतिशत मात्रै छ।

नयाँ उद्योगको संख्या उत्साहजनक

यो अवधिमा उद्योग विभागमा देशभर ५८१ नयाँ उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी ४९३ उद्योग बागमती प्रदेशमा दर्ता भएका छन्। सुदूरपश्चिममा ६ मात्र दर्ता भएका छन् भने कर्णाली प्रदेशमा कुनै पनि नयाँ उद्योग दर्ता भएको छैन। यी उद्योगहरूले झण्डै २५ हजार ६ सय जनालाई रोजगारी दिएका छन्।

राष्ट्र बैंकको प्रक्षेपण : उत्पादन बढ्ने आशा

राष्ट्र बैंकले विप्रेषणको वृद्धि, बैंकिङ प्रणालीमा तरलता, घट्दो व्याजदर, घरजग्गा कारोबारको सुधार, पूर्वाधार निर्माणको विस्तार र विद्युत् आपूर्तिको सुधारले औद्योगिक उत्पादनमा सकारात्मक प्रभाव पर्ने प्रक्षेपण गरेको छ। आगामी महिनाहरूमा उद्योगको क्षमता उपयोग पनि क्रमशः बढ्ने अपेक्षा गरिएको छ।