
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताको मागअनुसार साउन १ गतेदेखि अड लट खरिद तथा विक्री आदेशहरू आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखाउने व्यवस्था लागू गरेको छ।
अब लगानीकर्ताले नेप्सेको वेबसाइटबाट दैनिक रूपमा अड लट कारोबारका आदेशहरू सजिलै जानकारी पाउन सक्ने भएका छन्। यसअघि बोर्ड लटका धितोपत्रमा लगानीकर्ताको आदेश देखिँदैनथ्यो जसका कारण किनबेच गर्न कठिनाइ हुन्थ्यो। यो व्यवस्थाले त्यस्तो गुनासो हटाउने अपेक्षा गरिएको छ।
धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार अंकित मूल्यअनुसार परिमाण छुट्याइन्छ। जस्तै १० रुपैयाँ अंकित मूल्य भएका धितोपत्रको १०० कित्ता, १०० रुपैयाँ अंकित मूल्य भएकाको १० कित्ता र १००० रुपैयाँ अंकित मूल्य भएका धितोपत्रको १ कित्ता कारोबारलाई बोर्ड लट मानिन्छ। यसभन्दा कम परिमाणमा हुने कारोबार अड लट भनिन्छ।
विनियमावलीले अड लट कारोबारलाई मूल्य सीमा परिवर्तन तथा बजार परिसूचकमा गणना नगरिने व्यवस्था गरेको छ। साथै, बोर्ड लटका धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाइने प्रावधान पनि छ।
नेप्सेले अड लट कारोबारलाई वेबसाइटमार्फत देखाएर बजारमा पारदर्शिता वृद्धि गर्ने र साना तथा खुद्रा लगानीकर्तालाई सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले अड लटका धितोपत्रको व्यवहारिक खरिद–बिक्रीमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ।



