
बैंकिङ खबर/अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो।
बुधबार सार्वजनिक परिपत्रमार्फत राष्ट्र बैंकले सेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मार्जिन लोन’ (शेयर धितो कर्जा) को सीमा वृद्धि गरेको हो। यसअघि यो सीमा १० करोड रुपैयाँ थियो, जुन पछिल्लो मौद्रिक नीतिबाट १५ करोड पुर्याइएको थियो। अब थप वृद्धि गर्दै २५ करोड रुपैयाँसम्म पु-याइएको हो।
यो व्यवस्था केवल ‘मार्जिन प्रकृति’का सेयर धितो कर्जामा मात्र लागू हुनेछ। अन्य प्रयोजनमा लिइने सेयर धितो कर्जामा भने यस प्रकारको सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले यो सीमा व्यक्तिगत ऋणीका हकमा मात्र लागू हुने जनाएको छ। संस्थागत ऋणीका हकमा भने यस्तो कर्जा सीमा लागु नहुने व्यवस्था कायम रहनेछ।
जाजरकोट–रुकुमका भूकम्पपीडितलाई राहत
यसैबीच, २०८० कात्तिकमा आएको विनाशकारी भूकम्पबाट प्रत्यक्ष प्रभावित जाजरकोट, रुकुम लगायत क्षेत्रका व्यवसाय र व्यक्तिहरूका लागि राष्ट्र बैंकले विशेष राहत व्यवस्था गरेको छ। त्यहाँका व्यवसाय र सर्वसाधारणले लिएका व्यक्तिगत कर्जाहरू ऋणीको अनुरोध र आवश्यकताको मूल्यांकनका आधारमा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको छ।
तर यस्तो व्यवस्था २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ। पुनरसंरचना गर्दा कर्जाको वर्गीकरण यथास्थितिमा राख्नुपर्नेछ भने ब्याजको कम्तीमा १० प्रतिशत भने अनिवार्य रूपमा असुल गर्नुपर्नेछ।
बैंकदर ६ प्रतिशत कायम
राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार बैंक दर तथा अन्य नीतिगत ब्याजदरहरूमा समेत परिवर्तन गरेको छ। अब बैंकदर ६.० प्रतिशत कायम गरिएको छ भने, स्थायी तरलता सुविधाको दर ६.० प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत र रिपो दर ४.५ प्रतिशत कायम गरिएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सेयर बजारलाई प्रोत्साहन गर्ने नीति लिइएको छ। यसले पुँजी बजार विस्तारसँगै वित्तीय पहुँचमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ।




