२०८२ श्रावण १ गते

ब्रोकर कम्पनीले परामर्श र पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिन पाउने

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको कार्यक्षेत्र विस्तार गरेको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै ब्रोकरको कार्यक्षेत्र विस्तार गरिदिएको हो । अब चुक्ता पूँजी २० करोड पुर्‍याउने सबै ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न पाउने छन् ।

यसअघि पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले मात्रै मार्जिन कारोबार गर्न पाउने व्यवस्था थियो । मार्जिन कारोबारलाई पनि पूर्ण कार्यअन्तर्गत राखिएको थियो । त्यस्तै ब्रोकर कम्पनीले अब लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिन पाउने भएका छन् । पूर्ण कारोबार गर्न पाउने ब्रोकर कम्पनीले यो सेवा दिन पाउने छन् ।

सेयर बजारमा लगानी गर्न चाहने, लगानीका लागि ज्ञान नभएका, सही रुपमा आफैले कारोबार गर्न नसक्नेका लागि पोर्टफोलियो म्यानेजमेन्ट सेवा उपयुक्त हुन्छ ।

नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरुको वित्तीय विश्लेषण गरी ग्राहकलाई जानकारी दिने, परामर्श दिने, लगानी किनबेचको अवस्थाबारे नियमित रुपमा ग्राहकलाई जानकारी गराउने वा लगानीकर्ताको पोर्टफोलियो पूर्ण रुपमा जिम्मा लिएर सही रुपमा किनबेच गरिदिने कार्य पोर्टफोलियो म्यानेजरले गर्दै आएका छन् ।

त्यस्तै ब्रोकर कम्पनीलाई लगानी परामर्श सेवा दिनेगरी कार्यक्षेत्र फराकिलो बनाइएको छ । यसअघि परामर्श सेवा ब्रोकर कम्पनीले दिन पाएका थिएनन् । त्यस्तै योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत ब्रोकर कम्पनीले कारोबार गर्न पाउने भएका छन् ।

योग्य संस्थागत लगानीकर्ताले विभिन्न कम्पनीका सेयरमा लगानी गर्न पाउँछन् । हाल ४६ संगठित संस्थालाई धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको छ ।