२०८२ असार ३२ गते

सम्पदा लघुवित्तको नवौं स्थापना दिवसमा रक्तदान

बैंकिङ खबर/सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा मानवीय सेवा कार्यक्रमहरू आयोजना गरेको छ। असार ३० गते सोमबार तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित केन्द्रीय कार्यालयमा “तपाईंको एक थोपा रगत, कसैको जीवन बच्न सक्छ” भन्ने नारासहित रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ३२ जना रक्तदाताबाट ३२ युनिट रगत संकलन गरिएको संस्थाले जनाएको छ।

कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुर चितवनका प्रमुख सुमी पौडेलले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको कामना गगरे । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुका साथै उद्घाटन सत्रको समापन गर्दै संस्थाको उद्देश्य तथा भावी योजनाबारे प्रकाश पारे।

त्यसैदिन बारा जिल्लाको बरियारपुर मुकाममा भएको अर्को रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको जानकारी असुली तथा अनुगमन मुकामका अधिकृत बृजकिशोर सहनीले दिए । दुई स्थानमा गरी संस्थाले कुल ७३ युनिट रगत संकलन गरेको हो।

स्थापना दिवसको अवसरमा संस्थाका विभिन्न शाखा कार्यालयहरूले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। झापाको बुधबारे शाखाले सांस्कृतिक जगेर्नाका लागि महिला समूहलाई पञ्चे बाजा खरिदका लागि आर्थिक सहयोग गरेको छ।

रौतहटको सम्मनपुर शाखाले अनाथालयमा २५ जना बालबालिकालाई खाद्यान्न वितरण गरेको छ भने पर्साको बहुअरी शाखा, महोत्तरीको लोहारपट्टी शाखा र रौतहटकै राजपुर शाखाले मन्दिरहरूमा सिलिङ फ्यान वितरण गरेका छन्।

नुवाकोटको छहरे, गोरखाको घैरुङ्ग, कपिलवस्तुको इमिलिया र नवलपरासीको चोरमारा शाखाले आफ्ना सदस्यहरूलाई फलफूलका विरुवा वितरण गरेका छन्। धादिङ्गको धादिङबेशी शाखाले प्रहरी चौकीमा सामग्री सहयोग गरेको छ भने कास्कीको खोलाको छेऊ शाखाले सडक किनारमा ट्राफिक सचेतना बोर्ड राखेको छ।

रुपन्देहीको नयाँमिल शाखाले अनाथालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ। बाँकेको मदनचौक शाखाले विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा झोला वितरण गरेको छ। कैलालीको दुर्गौली शाखाले स्थानीय हेल्थपोस्टमा स्वास्थ्य सामग्री वितरण गरेको छ।

संस्थाले हाल सातै प्रदेशका ४५ जिल्लामा १५५ शाखा, १४ असुली तथा अनुगमन मुकाम, एक सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी १७१ वटा सेवा केन्द्रमार्फत १ लाख ७८ हजार ७७८ घरधुरीमा सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए । संस्थाको हाल कर्जा लगानी ९ अर्ब ९५ करोड रुपैयाँ र बचत संकलन २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।