
बैंकिङ खबर/हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधबार दिउँसो गोलाप्रथामार्फत बाँडफाँड सम्पन्न गरेको हो।
कम्पनीले असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ७,७३,९७५ कित्ता शेयर निष्कासन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा २०,४४,४५६ जनाले आवेदन दिएकामा १८,९५,३७६ जनाको आवेदन मात्र योग्य भएको थियो।
माग धेरै, बाँडफाँड गोलाप्रथाबाट
आईपीओमा माग अत्यधिक भएकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो। जसअनुसार ७७,३९७ जनाले मात्र शेयर प्राप्त गरेका छन्।
तीमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ता शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही समयपछि बिक्री प्रबन्धकको वेबसाइट र अन्य माध्यमबाट प्रकाशित हुने बताइएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई समेत आईपीओ निष्कासन गरिसकेको थियो।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले ओखलढुंगामा ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीका प्रमुख संस्थापक तथा शेयरधनीहरूमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड र दुतराज लामा रहेका छन्।



