
बैंकिङ खबर/ बैंकमा पैसा थपिने क्रम निरन्तर जारी रहेकाले बैंकहरूको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७६ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, हाल बैंकहरूको औसत सीडी रेसियो ७५.८२ प्रतिशतमा झरेको छ।
सीडी रेसियो घट्नुको प्रमुख कारण बैंकहरूले कर्जा प्रवाहभन्दा असुलीमा बढी ध्यान केन्द्रित गर्नु रहेको विश्लेषकहरूको भनाइ छ। विशेषतः असार महिनाबाट कर्जा असुलीको गति तीव्र भएको छ, जसले गर्दा नगद प्रवाह बढेको देखिन्छ।
आर्थिक वर्षको अन्तिम त्रैमासमा प्रोभिजन (नोक्सानी रकम छुट्याउने प्रक्रिया) कम राख्न तथा नाफा वृद्धि गर्न बैंकहरू कर्जा असुलीमा सक्रिय भएको अनुमान गरिएको छ। साथै, अहिलेको परिस्थितिमा कर्जाको मागमा कमी आउनुले पनि बैंकमा पैसा थुप्रन थालेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार, देशभित्रको लगानी वातावरण कमजोर हुनु, युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु लगायतका कारण अर्थतन्त्रमा माग खुम्चिएको छ। जसको प्रभाव बैंकिङ प्रणालीमा प्रत्यक्ष देखिएको छ।




