
बैंकिङ खबर/बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि आवेदन खुला गरेको छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दै ५३ करोड ५८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरूले आफूसँग भएको सेयर संख्याअनुसार प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन १९ गते तोकिएको छ।
कम्पनीका अनुसार हकप्रद सेयरबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माणमा खर्च गरिनेछ। बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रोपावर कम्पनीमा लगानी तथा अधिग्रहणका लागि प्रयोग गरिनेछ।
हकप्रद सेयरको बिक्री व्यवस्थापन आरबीबी मर्चेन्ट बैंकिङले गरिरहेको छ। आवेदन मेरो सेयर प्रणालीमार्फत अनलाइन दिइने व्यवस्था गरिएको छ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि केयर रेटिङ नेपालबाट ‘CARE-NP BB’ रेटिङ प्राप्त गरेको छ, जसले औसत जोखिम भएको संकेत गर्दछ।
सोमबार बजार बन्द हुँदाको समयसम्म बरुण हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको थियो। हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँमा पाइने हुँदा विद्यमान सेयरधनीका लागि यो अवसर लाभदायक मानिएको छ।



