
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरू र लघुजीवन बीमा कम्पनीहरूलाई आर्थिक वर्ष २०८२/८३ का लागि विस्तृत व्यावसायिक लक्ष्य निर्धारण गर्न निर्देशन दिएको छ।
प्राधिकरणले जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागले व्यावसायिक लक्ष्य निर्धारण गर्दा केवल प्रथम बीमा शुल्क (फर्स्ट प्रिमियम) मा केन्द्रित नभई अनिवार्य रूपमा नवीकरण बीमा शुल्क र म्यादी जीवन बीमा शुल्क पनि समावेश गर्नुपर्ने स्पष्ट गरिएको छ।
प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार पछिल्लो समय बीमकहरूले सावधिक तथा एकल बीमा योजनाबाट मात्रै धेरै प्रिमियम सङ्कलनमा जोड दिँदा बीमा सेवा गुणस्तरीय र दीगो नबन्ने गुनासो आइरहेको छ।
“केही बीमा कम्पनीहरू ठूला रकमको बीमा शुल्क संकलनमा मात्रै केन्द्रित हुने, कमजोर आर्थिक अवस्था भएका वर्गसम्म बीमा सेवा नपुग्ने, बीमालेख समयमै समर्पण हुने जस्ता समस्या देखिएको पृष्ठभूमिमा यो निर्देशन दिइएको हो,” सुवेदीले बताए।
बीमा सेवा आम नागरिकसम्म पुग्न, दीर्घकालीन भरोसा कायम राख्न र बीमा प्रणालीमा सुधार ल्याउन प्राधिकरणले यस्तो पहल अघि सारेको हो।
प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरूलाई निर्देशन अविलम्ब लागू गर्न भनेको छ। यसले दीर्घकालीन बीमा सेवा सुधार र बीमितको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।




