
बैंकिङ खबर/ विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपीओ) को बाँडफाँट आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९:३० बजे गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।
कम्पनीले कुल ३१ लाख ९० हजार ९४५ कित्ता शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित राख्दै बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो।
यस IPO मा करिब २१ लाख ५० हजार ६७२ जनाले आवेदन दिएका थिए। उनीहरूले कूल २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तर, प्राप्त आवेदनमध्ये १ लाख ६ हजार ९८६ जनाको २६ लाख ६५ हजार २६० कित्ता आवेदन विभिन्न कारणले बदर भएको छ।
मान्य आवेदकको संख्या २० लाख ४३ हजार ६८६ रहेको छ। तीमध्येबाट गोलाप्रथामार्फत २ लाख ९४ हजार २७६ जना भाग्यमानी आवेदकले मात्र १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी १७ लाख ४९ हजार ४१० जना लगानीकर्ताको हात भने खाली रहेको छ।
कम्पनीको IPO को अन्तिम नतिजा केही समयभित्र सार्वजनिक गरिनेछ। लगानीकर्ताहरूले नतिजा हेर्नका लागि कम्पनीको वेबसाइट, प्रभु क्यापिटलको वेबसाइट, CDSC को mero.share पोर्टल वा iporesult.cdsc.com.np मा गएर विवरण हेर्न सक्नेछन्।



