
बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व. २०८०/८१ को दशौं वार्षिक साधारण सभा शनिबार बुटवलमा भौतिक र भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा भएको थियो ।
सञ्चालक समितिका अध्यक्ष कोइरालाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आ.व. २०८०/८१ को आषाढ मसान्तसम्म ५६ जिल्लाका १८९ शाखा कार्यालयमार्फत ३६९ स्थानीय तहमा २१६,८७५ सदस्य र ८९,६८६ ऋणी सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा उपलब्ध गराएको जानकारी दिनुभयो। यस अवधिमा संस्थाको कुल कर्जा रु. १२.२३ अर्ब र बचत रु. ३.५४ अर्ब रहेको तथ्य प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले शेयरधनीहरूको जिज्ञासामा जवाफ दिँदै संस्थाले ग्राहक र शेयरधनीहरूको हितमा काम गर्दै आएको र भविष्यमा उचित प्रतिफल दिने उद्देश्यले व्यवस्थापन योजनाबद्ध तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शेयरधनी चन्द्र नारायण श्रेष्ठले मन्तव्य राख्दै नेपाल सरकारको गरिबी न्यूनिकरण अभियानमा संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । उनले सञ्चालक समिति र व्यवस्थापनलाई मितव्ययी ढंगले काम गर्दै शेयरधनीलाई उचित प्रतिफल दिने सुझाव दिए ।
पूर्वअध्यक्ष माणिकरत्न शाक्यले संस्थाको व्यवसायमा भएको वृद्धि सन्तोषजनक रहेको विचार प्रकट गर्दै आगामी वर्षदेखि लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने दिशामा काम गर्न सुझाव दिए । दशौं वार्षिक साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षकको नियुक्ति प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
साथै, विशेष प्रस्तावको रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रस्तावलाई पनि सर्वसम्मतिले अनुमोदन गरिएको छ । सभा समापन गर्दै अध्यक्ष कोइरालाले सम्पूर्ण शेयरधनी महानुभावलाई रचनात्मक सुझावहरूको अपेक्षासहित धन्यवाद ज्ञापन गर्दै सभा समापन गरेका थिए ।