Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लचिलो कार्यादिशासहितको मौद्रिक नीति, ब्याजदर करिडोरका सबै दर घटे

२०८२ असार २७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै समग्र आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए।

गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिको लक्ष्य सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहायक हुने खालको छ। साथै, मुद्रास्फीति ५ प्रतिशतमा सीमित गर्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी कायम राख्ने योजना रहेको उनले बताए।

मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। मौद्रिक नीति अनुसार अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) यथावत राखिएको छ भने ब्याजदर करिडोरमा केही परिमार्जन गरिएको छ।

मुख्य बुँदाहरू

बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत।

नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत।

निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत।

आवश्यक परेमा ऋणपत्र जारी गरेर तरलता व्यवस्थापन गरिने।

नेपाल राष्ट्र बैंकले ब्याजदर ऋणात्मक नहोस् भन्ने सुनिश्चित गर्दै समग्र माग वृद्धि गर्न आवश्यक लचिलो उपायहरू समेटिएको जनाएको छ। राष्ट्र बैंकले आर्थिक वृद्धिलाई सघाउने गरी मौद्रिक र विदेशी विनिमय नीति सन्तुलित रूपमा अघि बढाउने स्पष्ट पारेको छ।