बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुनः संरचना गर्ने उद्देश्यले तयार पारेको अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ। बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले सो जानकारी दिएका हुन्।
उनका अनुसार नेप्से पुनः संरचनाबारे लामो समयदेखि छलफल हुँदै आए पनि हाल सो विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत समेत अगाडि बढाइएको छ। “हामीले कसरी नेप्से पुनः संरचना गर्ने भन्नेबारेको अध्ययन रिपोर्ट तयार गरेर अर्थ मन्त्रालयमा बुझाएका छौं,” पराजुलीले भने, “अब मन्त्रालयको स्वीकृतिपछि मात्रै दोस्रो चरणमा जान सकिन्छ।”
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पनि सेयर बजारलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप पुनः संरचना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “विश्वभर सामान्य रूपमा अपनाइने प्रणाली ल्याएर नेप्सेलाई नयाँ प्रविधिसहित पुनः संरचना गर्न सके पूँजी वृद्धिसँगै संस्थागत सुधार सम्भव हुन्छ।”
हाल नेप्सेमा निजीकरण र दोस्रो स्टक एक्सचेञ्जको विषयमा विभिन्न कोणबाट बहस चर्किरहेका बेला नेप्सेले आफू सुधारका प्रक्रियामा रहेको जानकारी दिएको हो। पूँजी बजारको विकास र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले नेप्से पुनः संरचना गरिनुपर्नेमा सरोकारवालाहरूको जोड रहँदै आएको छ।




