आईपीओ स्वीकृतिमा फरक निर्देशनले अन्योल : अध्यक्ष श्रेष्ठ

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ स्वीकृतिमा सार्वजनिक लेखा समिति र अर्थ समितिबाट आएका फरक निर्देशनले अन्योल र अप्ठ्यारो स्थिति सिर्जना गरेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले दुई समितिका निर्देशन आपसमा बाँझिँदा काम अगाडि बढाउन कठिनाइ भएको बताए।

उनका अनुसार सार्वजनिक लेखा समितिले अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको थियो। तर हालै अर्थ समितिले जलविद्युत् र उत्पादनमूलक कम्पनीहरूलाई प्रिमियममा सेयर निष्कासनको बाटो खुलाउन भनेको छ।

“एक समितिको निर्देशनले आईपीओ प्रक्रिया रोकिएको थियो, अर्काेले फेरि निष्कासन खोल्न भनेपछि अन्योल भएको छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी कानुनी आधारअनुसार अघि बढ्न चाहन्छौं, तर यस्ता फरक निर्देशनले कार्यान्वयनमा समस्या हुन्छ।”

उनले यस्तो अन्योल हटाउन स्पष्ट कानुनी व्यवस्था वा एकीकृत निर्देशन आवश्यक रहेको बताए। साथसाथै, पुँजी बजारको स्थायित्व, विश्वास र विकासका लागि नीतिगत स्पष्टता अत्यावश्यक रहेकोमा समेत जोड दिए।