
बैंकिङ खबर/चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा उल्लेख्य सुधार देखिएको छ। पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा उल्लेखनीय वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार चालु आव २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत आवको सोही अवधिमा यो वृद्धि २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो।
२०८२ जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा ८.७ प्रतिशत रहेको छ। प्रवाहित कर्जामध्ये ६३ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रतर्फ र बाँकी ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ रहेको छ। गत वर्ष सोही अवधिमा क्रमशः ६३.५ र ३६.५ प्रतिशत थियो।
वित्तीय संस्थाहरू अनुसार कर्जा प्रवाहमा वाणिज्य बैंकको हिस्सा ८.४ प्रतिशत, विकास बैंकको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको ६.९ प्रतिशतले वृद्धि भएको छ।
उद्योग तथा सेवा क्षेत्रतर्फको कर्जा प्रवाह पनि उल्लेख्य छ। औद्योगिक उत्पादनमा ८.२ प्रतिशत, निर्माण क्षेत्रमा १२.९, थोक तथा खुद्रा व्यापारमा ५.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १३.५, सेवा उद्योगमा ८.८ र उपभोग्य क्षेत्रमा १०.९ प्रतिशतले कर्जा प्रवाह बढेको देखिन्छ।
कर्जाको सुरक्षाका आधारमा हेर्दा चालु सम्पत्तिमा आधारित कर्जा १४.५ प्रतिशत छ भने घरजग्गा धितोमा आधारित कर्जा ६५ प्रतिशत पुगेको छ।
प्रकृतिका आधारमा प्रवाहित कर्जामा आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन कर्जा ४२.८, ट्रस्ट रिसिट (आयात) कर्जा ६२.२, हायर पर्चेज कर्जा ५.५, नगद प्रवाह कर्जा ०.६ र रियल स्टेट कर्जा (व्यक्तिगत आवास कर्जा सहित) ५.० प्रतिशतले वृद्धि भएको छ।




