२०८२ असार २३ गते

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शेयर आवेदन समय छोट्याइयो, अविमोच्य अग्राधिकार शेयर निष्कासनको व्यवस्था लागू

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर निष्कासनका लागि आवेदन दिने समय छोट्याएको छ। बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको नवौँ संशोधन २०८२ मार्फत यो व्यवस्था ल्याएको हो। संशोधित निर्देशिका साउन १ गतेदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले खुला भएको ४ दिनभित्रै IPO को आवेदन दिनुपर्नेछ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरे मात्र थप ११ दिनसम्म समय थप्न सकिनेछ। यद्यपि, ४ दिनमै मागभन्दा बढी आवेदन परे सोही दिन निष्कासन बन्द हुनेछ। यस अनुसार कुल निष्कासन अवधि अधिकतम १५ दिन रहनेछ।

यसका अतिरिक्त, संशोधित निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्कासन गर्ने व्यवस्था पनि गरेको छ। यस्तो शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त संस्थाहरूले मात्र निष्कासन गर्न सक्नेछन्।

यस शेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गर्नुपर्नेछ। यस प्रकारको शेयर परिपत्र विधिबाट अधिकतम ५० जना संस्थागत लगानीकर्तालाई मात्र निष्कासन गर्न पाइनेछ। सर्वसाधारण, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषहरूलाई भने लगानी गर्न नपाइनेछ।

निष्कासन प्रक्रियामा सम्भावित लगानीकर्तालाई शेयरको विशेषता र जोखिमसम्बन्धी विवरण उपलब्ध गराउनुपर्नेछ र ती विवरण पढेको, बुझेको भन्ने लिखित प्रमाण पनि संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्ता शेयरमा वितरणयोग्य मुनाफा आर्जन भएमा नियामक निकायले रोक नलगाएको खण्डमा लाभांश वितरण नगर्न नपाइनेछ। फिर्ता वा साधारण शेयरमा परिवर्तनसम्बन्धी व्यवस्था भने राष्ट्र बैंकको निर्देशन अनुसार हुने बोर्डले स्पष्ट पारेको छ।

NOCyiotsMLk5VkYICvgNkxMXRaAppWfA3xsuCOND