Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय नीतिलाई सघाउने मौद्रिक नीति ल्याइने

२०८२ असार २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति वित्तीय नीतिका कार्यक्रमहरूलाई सघाउने गरी तयार पारिने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गर्दै समावेशी र सन्तुलित नीति ल्याउने प्रतिबद्धता जनाए।

प्राथमिकता क्षेत्रमा जोड

गभर्नर पौडेलले कृषि, ऊर्जा र उद्योग जस्ता प्राथमिकता प्राप्त क्षेत्रको प्रवद्र्धन हुने गरी मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिए। यद्यपि यिनै क्षेत्रमा निस्क्रिय कर्जा (एनपिएल) बढी देखिएको स्वीकार गर्दै उनले समस्या समाधानतर्फ नीतिगत पहल गरिने बताए।

उनले विगत र वर्तमान कर्जानीति तुलना गर्दै भने, ‘डेढ सय वर्षअघि संस्थाको ब्यालेन्स सिट हेरेर ऋण तिरेको छ कि छैन भन्ने मूल्यांकन गरिन्थ्यो। तर अहिलेको यथार्थ फरक छ। कृषि र उद्योग क्षेत्रलाई कर्जा पठाउने चाहना हुँदाहुँदै पनि त्यहीँ बढी एनपिएल देखिएको छ।’

साना व्यवसायीको प्रवद्र्धनमा जोड

गभर्नर पौडेलले साना तथा मझौला व्यवसायीहरूलाई समेत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मौद्रिक नीतिमा समावेशी सोच अपनाइने बताए। ‘अब हरेक क्षेत्रलाई नछोडिकन अगाडि बढाउने नीतिको आवश्यकता छ,’उनले भने।

मौद्रिक नीति सन्तुलित र समस्या–मुखी हुने संकेत

उनका अनुसार, मौद्रिक नीति केवल आर्थिक सूचकांक नियन्त्रण गर्न मात्रै होइन, उत्पादनमुखी क्षेत्रको सुधार र कर्जा प्रवाहको गुणस्तर वृद्धि गर्नेतर्फ केन्द्रित हुनेछ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आगामी साता सार्वजनिक हुने अपेक्षा गरिएको छ।