
बैंकिङ खबर/स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपालका अधिकांश बैंकहरू उद्योगी–व्यापारीको नियन्त्रणमा रहेको बताउँदै बैंकिङ क्षेत्रमा देखिएको ‘ग्रे एरिया’को नियमन तत्काल गर्नुपर्ने माग गरेका छन्। शुक्रबार संसद्को अर्थ समितिमा बोल्दै सांसद सिंहले बैंकमा रहेको अधिकांश रकम व्यापारीहरूद्वारा सञ्चालन भइरहेको दाबी गर्दै त्यसलाई नेपाल राष्ट्र बैंकले नियमन नगरेको आरोप लगाए। उनले भने, “कोही व्यवसायीको बैंकमा पनि लगानी छ, उसकै व्यवसाय पनि छ, अनि बैंकको कर्जा उसैले चलाइरहेको छ — यो स्वार्थको द्वन्द्व हो।”
सिंहले हाल प्रवाह भएको कर्जा कुन क्षेत्रमा कति प्रवाह भयो र कुन समूहले कति कर्जा लिएको छ भन्नेबारे सरकारले श्वेतपत्र सार्वजनिक गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, एउटै व्यापारिक समूहको करिब ६० अर्बसम्म कर्जा रहेको चर्चा छ, जुन पारदर्शिता अभावका कारण ‘ग्रे एरिया’ मा परेको छ।
सांसद सिंहले बैंकिङ प्रणालीमा उच्च तहमा रहेका व्यक्तिहरूलाई निरन्तर रूपमा दोहोर्याएर नियुक्त नगर्न पनि प्रस्ताव गर्दै भने, “एउटै व्यक्तिले दुईपटकभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था आवश्यक छ।” उनले कृषिमा लगानी हुने वातावरण निर्माण गर्नुपर्ने, बैंकिङ क्षेत्रको लेखापरीक्षण थप पारदर्शी बनाइनुपर्ने र ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा दिइने कर्जामा प्रोत्साहन दिनुपर्ने माग पनि राखे। सांसद सिंहको भनाइमा, सरकारको आसेपासे व्यापारीहरूले ऋण पाउँछन् तर किसान भने अझै पनि वित्तीय पहुँचबाट वञ्चित छन्, जसले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई कमजोर बनाउने खतरा बोकेको छ।


