
बैंकिङ खबर/ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको बैंकिङ प्रणालीमा उल्लेख्य स्वामित्व भएका व्यक्तिहरूले कुल कर्जाको ४५ प्रतिशत हिस्सा उपयोग गरिरहेको बताएका छन्। शुक्रबार संसद्को अर्थ समितिमा बोल्दै सांसद पौडेलले बैंकहरूमा ती व्यवसायीको ठुलो लगानी भइसकेको उल्लेख गर्दै अब उनीहरूलाई सुरक्षित निकास आवश्यक भएकोमा जोड दिए।
उनका अनुसार, हालसम्म २० वाणिज्य बैंकहरूको २०८० असारसम्मको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। त्यो पुँजीमा करिब ३ सय व्यक्तिको लगानी संलग्न रहेको बताउँदै उनले भने, “हालको प्रस्तावित कानुनी व्यवस्थाले ती व्यक्तिको लगानी स्वतः धरापमा पर्ने देखिन्छ।”
पौडेलले सुझाए, “सरकारले सक्नेहरूलाई लगानी गर्न सहज वातावरण बनाइदिनुपर्छ। उनीहरूलाई प्रतिबन्ध लगाउँदा मुलुक थप अप्ठ्यारोमा पर्छ।” उनको तर्कमा बैंकिङ प्रणालीमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक छ, जसले निजी क्षेत्रको सक्रियता बढाउने र आर्थिक स्थायित्वमा सहयोग पुग्नेछ।


