
बैंकिङ खबर/सिराहाको सितापुरस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा भएको तोडफोड, हातपात र धम्कीपूर्ण घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघले कडा आपत्ति जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै असार १५, १६ र १७ गते क्रमशः भएको अराजक गतिविधिलाई नियोजित र गैरकानुनी हमला भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। संघका अनुसार ‘संघर्ष समिति’को नाममा करिब ५०–६० जनाको समूहले कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि हातपात गरेपछि कार्यालयमा ताला लगाइएको थियो।
ताला लगाइएको कार्यालय असार १६ गते वडाध्यक्ष र प्रहरीको रोहबरमा सञ्चालनमा ल्याइएको भए पनि त्यसको भोलिपल्ट पुनः ठूलो भिड पुगेको थियो। करिब २/३ सयको भीडले शाखामा ज्यान मार्ने धम्की, ढुंगामुढा, झ्यालढोका र साइन बोर्ड तोडफोड गरेको संघले जनाएको छ। प्रहरीमाथिसमेत आक्रमण भएपछि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
घटनाका क्रममा नियन्त्रणमा लिइएका ६ जनालाई भोलिपल्ट सामान्य सहमतिमा छाडिएपछि कार्यालयमा त्रासको वातावरण झनै बढेको संघको भनाइ छ।
विज्ञप्तिमा लघुवित्त संस्था नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नियमनमा रही विपन्न समुदायसम्म वित्तीय सेवा पुर्याउने संवेदनशील कार्यमा संलग्न भएको उल्लेख गर्दै यस्ता नियोजित आक्रमणले विपन्न वर्गलाई वित्तीय पहुँचबाट बञ्चित गराउने उल्लेख छ।
संघले दोषीहरूलाई शीघ्र कानुनी कारबाही गर्न र वित्तीय सेवा सञ्चालनका लागि अनुकूल वातावरण बनाइदिन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, ग्राहक संरक्षणलाई प्राथमिकतामा राख्दै सेवा निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्याइएको छ।




