
बैंकिङ खबर/ लघुवित्त संस्थाले धितो लिलाम गर्दा रौतहटमा लघुवित्तकर्मीमाथि ज्यान मार्ने धम्की आएको छ । यही असार १५ गते आइतबार सिरहाको सितापुरस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखाको कार्यालय तोडफोड भएको छ ।
‘संघर्ष समिति’ नामक समूहले करिब ५०–६० जनाको संख्यामा उपस्थित भइ कर्मचारीमाथि हातपात गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए । असार १६ गते नेपाल प्रहरी तथा स्थानीय वडाध्यक्षको रोहबरमा कार्यालय पुनः खोलिएको थियो। तर, असार १७ गते फेरि करिब २/३ सय जनाको भीडले कार्यालयमाथि पुनः आक्रमण गर्दै कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएको छ भने कार्यालयको झ्याल ढोका तोडफोड गरेको, साइन बोर्ड च्यातिएको छ । सुरक्षार्थ खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरिएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रयोग गर्नुपरेको र घटनास्थलबाट २ जना पुरुष तथा ४ जना महिलालाई नियन्त्रणमा लिएको थियो। तर, भोलिपल्ट असार १८ गते ती व्यक्तिहरू सामान्य सहमतिको आधारमा रिहा गरिएपछि कर्मचारीहरू अझै पनि त्रासको वातावरणमा रहेका छन्।
घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो हिंसात्मक तथा अराजक व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै घोर भत्र्सना गरेको छ । संघले भनेको छ, ‘ऐन, नियमअनुसार सञ्चालित लघुवित्त संस्थाहरूको कार्यालयमाथि यस किसिमका आक्रमणहरू हुनु दुःखद मात्रै नभइ कानूनी व्यवस्थामाथिको अवहेलनासमेत हो ।’
संघले यस्ता घटनाले सेवाग्राही तथा विपन्न समुदायले पाउने नियमित वित्तीय सेवामा बाधा पु¥याएको उल्लेख गर्दै दोषीहरूमाथि कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, संघले नेपाल सरकार, राष्ट्र बैंक, स्थानीय सरकार र सम्बन्धित निकायहरूलाई यस्तो सेवा अवरोध नहोस् भन्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको छ।
संघका अध्यक्ष रामबहादुर यादवद्वारा हस्ताक्षरीत विज्ञप्ति मा भनिएको छ, ‘ग्राहक र संस्थाबीच विश्वासको सम्बन्ध अझ प्रगाढ बनाउँदै, आगामी दिनमा पनि लघुवित्त संस्थाहरूले उत्कृष्ट सेवा प्रवाहमा कुनै कसर बाँकी राख्ने छैनन्। यस्ता घटनाबाट विचलित नभई हाम्रो सेवा जारी रहनेछ ।’




