Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा ३७३ व्यक्तिको प्रभावशाली हिस्सा, गभर्नरले प्रस्तुत गरे तथ्यांक

२०८२ असार १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थामा ३७३ व्यक्तिको प्रमोटर सेयर रहेको खुलासा गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले प्रस्तुत गरेको विवरण अनुसार वाणिज्य बैंकमा ७२ जना, विकास बैंकमा १३० जना र फाइनान्स कम्पनीहरूमा १७१ जना व्यक्तिका एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर रहेको छ।

संस्थापक सेयर हस्तान्तरणसम्बन्धी व्यवस्थाबारे गभर्नर पौडेलले लचिलो धारणा पनि सार्वजनिक गरेका छन्। उनले दुई प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व हस्तान्तरण गर्दा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने व्यवस्था ऐनमै राख्ने वा नराख्ने विषयमा छलफल गर्न सकिने बताए ।

गभर्नर पौडेले भने, “अर्थतन्त्र गतिशील भइरहेको बेला कति प्रतिशत भन्ने कुरा ऐनमै बाँध्नुभन्दा राष्ट्र बैंकलाई नै निर्णय गर्ने अधिकार दिन उपयुक्त हुन्छ कि भन्ने विषयमा छलफल हुनसक्छ।”

गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता र अनुशासन कायम गर्न सम्बन्धित व्यक्ति वा संस्थासँग हुने कारोबारलाई निगरानीमा राख्नुपर्नेमा पनि जोड दिए।

उनका अनुसार बैंक तथा वित्तीय संस्थामा जम्मा भएको ७० खर्ब रुपैयाँ कुनै व्यक्तिको निजी सम्पत्ति नभई समग्र मुलुकको अर्थतन्त्रको स्रोत हो भन्ने दृष्टिकोणले हेर्न आवश्यक छ।

उनले थपे, “वित्तीय क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सुशासनको प्रत्याभूति गर्दै निजी स्वार्थको संलग्नता न्यून पार्न जरुरी छ। यसले मात्र दीगो र सन्तुलित वित्तीय प्रणालीको आधार तयार गर्न सकिन्छ।”

गभर्नरको प्रस्तुतिले बैंकिङ क्षेत्रका संस्थापक लगानीकर्ताका गतिविधिमा नियमन र नीतिगत सुधारको आवश्यकता औंल्याएको छ। प्रतिनिधिसभाको अर्थ समितिमा भइरहेका यस्ता छलफलले आगामी दिनमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ।