
बैंकिङ खबर/ मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको कमान्ड आजभोली कामु गभर्नर बमबहादुर मिश्रको काँधमा आएको छ । गभर्नर डा.विश्वनाथ पौडेल स्विट्जरल्याण्डको औपचारिक भ्रमणमा छन् भने डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिना बंगलादेशमा छिन् । दुवै उच्च पदाधिकारी बाहिरिएका बेला राष्ट्र बैंकको नेतृत्व कामु गभर्नर मिश्रको काँधमा आएको हो ।
यो अवस्था एकातिर सामान्य प्रशासनिक प्रक्रिया हो तर अर्कोतिर केन्द्रीय बैंकजस्तो संवेदनशील नियामक संस्थामा उच्च तहका दुई जनानै विदेश हुँदा राष्ट्र बैंक यतिबेला सुनसान बन्न पुगेको छ ।
गभर्नर डा.पौडेल राष्ट्र बैंकको नेतृत्व सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका छन् । उनले स्विट्जरल्याण्डको बासेलमा आयोजना भइरहेको बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सको बैठकमा नेपाल प्रतिनिधित्व गरिरहेका छन् ।
यस कार्यक्रममा विश्वभरका केन्द्रीय बैंक गभर्नरहरू सहभागी छन् जहाँ डिजिटल अर्थतन्त्र, मौद्रिक स्थायित्व र अन्तरदेशीय वित्तीय समन्वय जस्ता विषयमा छलफल भइरहेको छ । उनी असार १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यसैबीच अमेरिकाको लामो बसाइँपछि नेपाल फर्किएकी डा. निलम ढुंगाना तिमिल्सिना अहिले सार्क फाइनान्स बैठकमा सहभागी हुन बंगलादेश पुगेकी छन्। बंगलादेशको केन्द्रीय बैंकसँग लघुवित्त व्यवस्थापन, डिजिटल बैंकिङ, महिला वित्तीय पहुँच लगायतका क्षेत्रमा अनुभव साटासाट गर्ने लक्ष्य रहेको छ । दुवै शीर्ष पदाधिकारी बाहिरिएका बेला राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई दिएको छ ।
यतिबेला राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीतिनिर्माणको चटारोे छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा सबैलाई समेटेर लैजानुपर्नेछ भने सबै क्षेत्रको सुझावहरु लिनुपर्नेछ । सबै क्षेत्रको सुझाव सुन्ने गभर्नर नहुँदा अरुबेला चहल पहल हुने राष्ट्र बैंक सुनसान छ ।
मौद्रिक नीति अन्त्यसँगै मुलुकको आर्थिक अवस्था, बैंकिङ प्रणालीको तरलता, कर्जा प्रवाह र मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिँदै मौद्रिक नीति तयार पार्ने कार्य अघि बढाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
हाल राष्ट्र बैंकको गभर्नर डा. पौडेल र डेपुटी गभर्नर ढुंगाना विदेश भ्रमणमा रहेको अवस्थामा मौद्रिक नीतिको प्रारम्भिक मसौदा कामु गभर्नर मिश्र र नीतिगत सल्लाहकारहरूको समन्वयमा तयार भइरहेको छ ।




