
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विगत ७ वर्षदेखि ५ सय र १ हजार दरका नोट छाप्न नसक्दा बैंकहरू एटीएममा राख्न मिल्ने ‘फिट नोट’ अभाव झेलिरहेका छन् ।
राष्ट्र बैंकले २०७६ सालमा मात्र अन्तिम पटक १ हजार दरका ४० करोड र ५ सय दरका १९ करोड थान नोट छापेको थियो ।
त्यसयता नयाँ नोट नआउँदा अहिले सात वर्ष पुराना, झुत्रा नोटहरू एटीएममा राख्नुपर्ने बाध्यता आएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।
एटीएममा पुरानो नोट अड्किने, च्यातिने, मेसिन बिग्रिने समस्या बढेको बैंकहरूको गुनासो छ । बैंकहरूले ग्राहकले फिर्ता ल्याएका नोटबाट सटिङ गरेर ‘एटीएम फिट नोट’ छुट्याउँछन्, तर राष्ट्र बैंकले समयमै नयाँ नोट नछाप्दा त्यसमा समस्या भइरहेको बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बताए ।
राष्ट्र बैंकले हालै ५ सय दरका नोट छपाइका लागि प्रक्रिया अघि बढाइसकेको छ भने १ हजार दरको नोट छपाइ प्रक्रिया पनि सुरु भइसकेको छ । उक्त दरका नोट छपाउन छपाइ कम्पनी छनौट गरेर पठाइसकेको र एक हजारदरको नोटको समेत छपाइको आवश्यक प्रक्रिया सुरु भइसकेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए।
५ सय दरका नोट छपाइमा पठाइसकेका छौं भने एक हजार दरका नोट छपाइको पनि आन्तरिक प्रक्रिया सुरु भइसकेको छ, सम्भवत आगामी दसै तिहारमा यी दरका नोट छपाइ भएर आउन सक्छ।
राष्ट्र बैंकले एक हजारदरको नोट भने पछिल्लो पटक छनोटमा परेको भारतीय नोट कम्पनीसँग सम्झौता रद्द गरी प्रक्रिया अघि बढाउन नसकेको हो।
विभागले २०७६ असार १२ मा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरी असोजमा चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। विभागले हजार दरका ४० करोड थान नोट चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग ९१ लाख ९० हजार अमेरिकी डलर उक्त समयको विदेशी मुद्रा सटही दरअनुसार नेपाली १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेर छपाएको थियो।
२०७६ चैतमा १९ थान ५ सयदरको नोट छपाएको थियो। उक्त समय छपाइ गरिएका यी नोटहरु राष्ट्र बैंकले यसबीचको चाडपर्वमा सर्वसाधारणलाई सटही गरेको थियो भने अहिले पनि बैंक काउन्टर र एटिएमबाट पाइने हजार दरका नोट यही समय छपाइ भएका हुन्।
बोलपत्र आह्वानमार्फत कम्पनी छनोट गरी नोट छपाइ भएर बजारमा सर्वसाधारणको हालमा पुग्दा न्यूनतम एक वर्ष समय लाग्छ। राष्ट्र बैंकले नोट छपाइ बजारमा कति नगद आवश्यक छ भन्ने अनुमानका आधारमा निर्णय गर्छ भने जनसंख्या वृद्धि, आर्थिक गतिविधि, चाडपर्वजस्ता कारणले नगदको माग बढे नयाँ नोट छाप्ने गर्छ।




