Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नागार्जुन नगरप्रमुख बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा ८ वर्ष कैद सजाय

२०८२ असार १६ गते

बैंकिङ खबर/काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस १४ गते दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले सोमबार सजाय तोकेका हुन्। अदालतले बस्नेतलाई घुस र रिशवतसम्बन्धी भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद र २ करोड ३० लाख ६१ हजार रुपैयाँ जरिवाना तोकेको छ। साथै, नगर प्रमुखको हैसियतमा पदको दुरुपयोग गरेको भन्दै थप ३ महिनाको कैद पनि सजायमा थपिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा भने अदालतले बस्नेतलाई ३ वर्ष कैद र २६ करोड २५ लाख ४६ हजार रुपैयाँ जरिवाना तोकेको छ। यस्तै, ३ महिना १८ दिन अतिरिक्त कैद पनि तोकिएको छ। अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ।

अख्तियारले बस्नेतसहित चार जनाविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो। अदालतले सबै प्रतिवादीहरूमाथि बिगो बराबरको रकम जफत हुने निर्णय गरेको छ। फैसलामा प्रतिवादीको सामाजिक, शैक्षिक पृष्ठभूमि, उमेर, स्वास्थ्य र अपराधको प्रकृति मूल्यांकन गर्दै कडा सजाय तोकिएको उल्लेख गरिएको छ। अदालतको यस निर्णयले स्थानीय तहका उच्चपदस्थ व्यक्तिहरूबाट हुने आर्थिक अपराधमाथि कडा कारबाहीको नजिर कायम गरेको विश्लेषण गरिएको छ।