
बैंकिङ खबर/ कुल निक्षेपको झण्डै ६३ प्रतिशत निक्षेप बागमती प्रदेशका जनताले बैंक तथा वित्तीय संस्थामा राखेको खुलेको छ। नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरूले पुस मसान्तसम्म कुल ४४ खर्ब ७४ अर्ब ६० करोड रुपैयाँ निक्षेपमा राखेको देखिएको हो।
हाल बैंक तथा वित्तीय संस्थाहरूसँग सर्वसाधारणको निक्षेप ७० खर्ब ४३ अर्ब रुपैयाँ छ। जसमा बागमती प्रदेशका जनताले मात्रै ६३ प्रतिशत बढी निक्षेपको हिस्सा ओगटेका हुन्।
बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०८० पुस मसान्तको तुलनामा ७.९ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा ४४ खर्ब ७४ अर्ब ६० करोड थियो। गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म यस्तो निक्षेप ११.८ प्रतिशतले वृद्धि भएको थियो।
यस्तै कर्जा लिनेमा पनि बागमती प्रदेशका जनता अगाडि देखिएका छन्। पुस मसान्तसम्म ४४ खर्ब निक्षेप बैंकमा राखेका सर्वसाधारणले कर्जा भने ३२ खर्ब २० अर्ब लगेका छन्।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले देशैभर कुल ६३ खर्ब ३ अर्ब कर्जा लगेका छन्। जसमा ३२ खर्ब बागमती प्रदेशका जनताले नै लगेका हुन्। आव २०८०/८१ को पुसको तुलनामा आव २०८१/८२ को पुससम्म कर्जा प्रवाह ७१.९ प्रतिशतले बढेको हो।
यसरी सातवटै प्रदेशमध्ये कर्जा चलाउने र निक्षेप राख्ने दुवैमा बागमती प्रदेश अगाडि देखिएको हो। पुस मसान्तसम्म बागमती प्रदेशमा प्रवाहित कुल ४४ खर्ब कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा गएको छ। सेवा क्षेत्रमा मात्रै १९ खर्ब २२ अर्ब कर्जा प्रवाहित हुँदा काठमाडौं जिल्लामा मात्रै १० खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
यस्तै औद्योगिक क्षेत्रतर्फ बागमती प्रदेशमा ११ खर्ब ७९ अर्ब रकम कर्जा प्रवाह हुँदा काठमाडौंमा मात्रै १४ खर्ब ५१ अर्ब ऋण प्रवाह भएको छ।
कृषि क्षेत्रमा भने १ खर्ब २० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह हुँदा काठमाडौंमा मात्रै ५८ अर्ब रुपैयाँ कर्जा प्र्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।




