Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतको कर्नाटका बैंकका सीईओ र कार्यकारी निर्देशकले दिए राजीनामा

२०८२ असार १६ गते

बैंकिङ खबर/ भारतको सबैभन्दा पुरानो बैंकमध्येको एक कर्नाटका बैंकका प्रमुख कार्यकारी अधिकृत र कार्यकारी निर्देशकले राजीनामा दिएका छन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एस. हरि हर शर्मा र कार्यकारी निर्देशक शेखर रावले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

शर्मा र राव दुवैले स्वास्थ्य समस्यालाई औपचारिक कारण उल्लेख गरेका छन्, तर उनीहरूको राजीनामा बैंकको आन्तरिक लेखापरीक्षकद्वारा अस्वीकृत खर्चको विषय बाहिर आएसँगै आएको हो, जसले बजारमा चासो उत्पन्न गराएको छ ।

बैंकले सञ्चालक समितिको स्वीकृति विना १.५३ करोड रुपैयाँ बराबरको परामर्श र पूँजीगत खर्च गरेको विषयमा लेखापरीक्षकले प्रश्न उठाएका थिए । यद्यपि, यो रकमको परीमाण न्यून भए पनि त्यसबाट बैंकको संस्थागत सुशासनमा प्रश्न उठ्न थालेपछि सञ्चालक समितिले गम्भीरताका साथ नियाल्न थालेको बताइएको छ ।

स्रोतहरूका अनुसार यही विषयले नेतृत्वको राजीनामा प्रक्रिया चाँडो भएको अनुमान गरिए पनि औपचारिकरूपमा कुनै सम्बन्ध पुष्टि गरिएको छैन ।

हाल बैंकका महाप्रबन्धक तथा प्रमुख अनुपालन अधिकृत राघवेन्द्र श्रीनिवास भटले आगामी जुलाई २देखि कार्यकारी प्रमुखको रूपमा काम सम्हाल्नेछन्, जुन नियामक स्वीकृति पश्चात् लागू हुनेछ ।

यसैबीच, बैंकको सञ्चालक समितिले नयाँ नेतृत्व चयनका लागि विशेष छनोट समिति गठन गरेको छ । यता, सोमबार कर्नाटका बैंकको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । विश्लेषकहरूका अनुसार यस घटनाले बैंकको वित्तीय हैसियतमा तत्कालीन असर नपरे पनि संस्थागत छविमा गम्भीर धक्का लागेको र आन्तरिक निगरानी प्रणालीमा प्रश्न उठेको देखिएको छ ।

हाल बैंक डिजिटल परिवर्तनको रणनीति अगाडि बढाउँदै दीर्घकालीन वृद्धिको बाटोमा उभिन खोजिरहेको अवस्थामा शीर्ष नेतृत्वको राजीनामाले चुनौती थपिएको छ । आगामी दिनमा सञ्चालक समितिले कसरी विश्वास पुनःस्थापना गर्छ भन्ने कुराले बैंकको भावी विश्वसनीयता निर्धारण गर्नेछ ।