२०८२ असार १६ गते

नियम उल्लंघनमा दुई ब्रोकर कम्पनीलाई जरिवाना

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी कानुन उल्लंघन गरेको भन्दै दुई ब्रोकर कम्पनीमाथि आर्थिक जरिवाना गरेको छ।कारबाहीमा नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) परेका छन्।

दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा अन्य आवश्यक विवरण नेपाल धितोपत्र बोर्डमा निर्धारित समयमा पेस नगरेको पाइएको हो।

बोर्डका अनुसार, धितोपत्र ऐन २०६३ तथा सम्बन्धित नियमावलीअनुसार ब्रोकरहरूले हरेक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण विवरण पेस गर्नु अनिवार्य छ। पहिलोपटक गल्ती गर्दा पाँच हजार रुपैयाँसम्मको जरिवाना हुने प्रावधानअनुसार दुवै कम्पनीलाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको हो।