June 27th, 2025

लघुवित्तका ५ हजार शाखा घटाएर ३ हजारमा झार्न प्रस्ताव

बैंकिङ खबर/ मुलुकभर रहेका ५ हजारभन्दा बढी लघुवित्त शाखालाई घटाएर ३ हजारमा सीमित गर्नुपर्ने माग लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गरेका छन्।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव र पूर्वअध्यक्ष बसन्त लम्सालले एउटै ठाउँमा १५–२० वटा शाखा हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै शाखा मर्जर, खरिद–बिक्री र पुनर्संरचनाको व्यवस्था गर्नुपर्ने माग गरेका हुन्।

हाल मुलुकमा ५० वटा लघुवित्त संस्था सञ्चालनमा छन् भने ती संस्थाका ५ हजार ५० शाखा कार्यालय छन्। मर्जरमार्फत संस्था संख्या घटे पनि शाखा यथावत् रहेका कारण ओभरक्राउड भएको उनीहरूको भनाइ छ।

नेपाल लघुवित्त बैंकर्स संघले ४० पृष्ठको प्रतिवेदन राष्ट्र बैंकमा बुझाएको छ। फर्स्ट माइक्रोफाइनान्सका सीईओ नुमनाथ पौडलको नेतृत्वमा तयार गरिएको प्रतिवेदनमा १० किमीको दायरा भित्र ७५ शाखासम्म रहेका १५५ स्थानको विवरण उल्लेख छ।

सीईओ पौडलका अनुसार, जनसंख्याको घनत्वअनुसार शाखा संख्या तोक्नुपर्ने र शाखा मर्जर तथा पुनर्संरचनाका लागि नयाँ कानुनी व्यवस्था आवश्यक रहेको छ। राष्ट्र बैंकको मौद्रिक नीतिले पनि शाखा मर्जरलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ।