
बैंकिङ खबर/ हालैका दिनहरूमा पुँजी बजारमा उल्लेखनीय गतिविधि देखिएका छन्। विभिन्न बैंक तथा जलविद्युत् कम्पनीहरूले ऋणपत्रदेखि हकप्रद तथा प्राथमिक शेयर (आईपीओ) निष्कासनसम्मका चरणहरूमा अघि बढेका छन्। यसले लगानीकर्तालाई नयाँ अवसरसहित बजारमा सक्रिय रहन उत्प्रेरित गराएको छ।
ऋणपत्र निष्कासन : नबिल बैंकको ७% डिबेञ्चर सार्वजनिक हुँदै
नेपाल धितोपत्र बोर्डले नबिल बैंक लिमिटेडलाई ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासनको अनुमति दिएको छ। असार १२ गते अनुमति पाएको ऋणपत्र ८ वर्ष अवधिको हुनेछ र यसमा ७% वार्षिक ब्याजदर तोकिएको छ।
बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत जारी गर्दैछ भने १८ लाख कित्ता निजी रुपमा बाँडफाँड हुनेछ। ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
हकप्रद शेयर
पिपुल्स पावर लिमिटेड कम्पनीले असार २२ गतेदेखि ५०% हकप्रद शेयर जारी गर्दैछ। १ः०.५ अनुपातमा जारी गरिने हकप्रदबाट ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री गरिनेछ। यसपछि कम्पनीको चुक्तापुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस शेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। बुक क्लोज असार २ गते गरिएकोले असार १ सम्मका शेयरधनीहरूलाई मात्र आवेदनको अधिकार हुनेछ।
रुण हाइड्रोपावर लिमिटेड
असार ३१ गतेदेखि १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ। बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो र आवेदनको अन्तिम म्याद असार १९ गते तोकिएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले वैशाख ३० देखि असार ३ सम्म निष्कासन गरेको हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ। १ः०.२७ अनुपातमा बिक्री गरिएका हकप्रदमा ३ लाख ९० हजार २५० जनाले आवेदन दिएका थिए। बाँडफाँडपछि बाँकी रहेको २ लाख २४ हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गरिनेछ।
आईपीओ अपडेट : हिम स्टार र मन्दाकिनी हाइड्रोपावरको पहल
हिम स्टार ऊर्जा कम्पनी
यस कम्पनीले असार १३ गते (आज) प्रथम चरणको आईपीओ निष्कासनको अन्तिम दिन हो। ११ लाख १९ हजार कित्ता शेयरमध्ये आयोजना प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि क्रमशः १ लाख ८६ हजार ५०० र ९३ हजार २५० कित्ता छुट्याइएको थियो। बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गरिनेछ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेड
२०७९ साउन १७ मा बाँडफाँट भएको आईपीओ अन्तर्गत संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयरमा रहेको ‘लक इन’ अवधि साउन १६ गते समाप्त हुँदैछ। यसपछि उनीहरूको शेयर कारोबार योग्य हुनेछ।
म्युचुअल फण्ड अपडेट : सिटिजन्स सदाबहार योजना
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा ल्याइएको ‘सिटिजन्स सदाबहार योजना’ असार १३ गतेदेखि निष्कासनमा आएको छ। १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई मध्ये ७५ लाख इकाई सिटिजन्स बैंकले सुरक्षित राख्नेछ। बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरिएको हो।
न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने यस योजनाको अधिकतम अवधि असार २७ गतेसम्म तोकिएको छ।



